काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमुना एकीकृत बस्ती निर्माण रोकिएको एक वर्ष भयो। बजेट अभावमा निर्माण अलपत्र परेको उक्त बस्ती निर्माणको काम विसं २०७४ मा तत्कालीन राष्ट्रिय पुनः निर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्नेगरी निर्माण थालिएको थियो।
बस्ती निर्माणको योजनाअन्तर्गत केही घर बन्न बाँकी रहेका छन् भने बनेका घरले पूर्णता पाउन बाँकी छ। नमुना बस्ती निर्माण योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन निर्माण गर्नुपर्ने हो। बजेट अभावमा एक वर्षदेखि निर्माणको काम रोकिएको निर्माण समितिले जनाएको छ। समितिका अनुसार ६ घर निर्माण बाँकी रहेको छ। उक्त बस्ती निर्माण सम्पन्न हुनुअघि नै प्राधिकरणको म्याद सकिएपछि त्यहाँ घर निर्माणसँगै फिनिसिङको काम अलपत्र बनेको हो।
बाँकी काम सक्न नगर कार्यालयले ४० लाख रूपैयाँ सहयोग दिने जनाए पनि एक वर्षदेखि निकासा हुन नसकेको बस्ती निर्माणका परिकल्पनाकार एवं स्थानीय अगुवा रामबहादुर लामाले बताए। उनका अनुसार नगरको सहयोगबाट बस्तीको बाँकी काम सक्ने योजना बनाइएको हो। उनले सरकारबाट प्राप्त हुने आवास निर्माणका रकम आएपछि तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होमस्टेसहितको नमुना तामाङ बस्तीको परिकल्पना गरिएको बताए।
नगरप्रमुख टोकबहादुर तामाङ अघिल्लो चरणमा लगेको पेस्की फछ्र्याेट भएपछि बस्तीको लागि निर्णय गरिएको रकम दिन सकिने बताउँछन्। यसअघि नगरले रु दश लाख सहयोग गरेको थियो। उक्त सहयोगबाट जस्तापातालगायत निर्माण सामग्री खरिद गरी बिल नगर कार्यालयमा पेस गरिसकिएको समितिले जनाएको छ। प्राधिकरणबाट पनि समयमा रकम निकासा नहुँदा बस्ती निर्माण समितिले ऋण गरेर निर्माणलाई निरन्तरता दिएको थियो।
निर्माण समितिका अध्यक्ष आइतमान तामाङले पटकपटक ५४ लाख रूपैयाँ ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणको कमालाई निरन्तरता दिइएको बताए। समितिका अनुसार प्राधिकरणबाट विभिन्न मितिमा दुई करोड ८० लाख रूपैयाँ रकम निकासा भएको थियो। उक्त रकमबाट एकीकृत बस्तीमा पहुँच सडक तथा अन्य सांस्कृतिक संरचना बनाउने योजना बनाइएको थियो। तीनधारामा स्थानीय तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले होमस्टेसहितको नमुना तामाङ बस्ती निर्माण थालिएको थियो।
तीनकोठे एकतले एकै डिजाइनका एक घर निर्माण सम्पन्न गर्न जनश्रमदान बाहेक तत्कालीन अवस्थामा करिब १३ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको थियो। बस्ती निर्माणार्थ जनश्रमदानमा पनि स्थानीयवासी निकै महिना खटिएका थिए। स्थानीय युवा विरेश तामाङले सुन्दर बस्ती बनाउने योजनामा सबैले जनश्रमदानमार्फत भरपुर साथ दिएको बताए। स्थानीय पञ्चकुमारी तामाङ एकीकृत बस्ती निर्माण सुरु भएपछि डेढसय दिन खटिएकि थिइन्। नमुना तामाङबस्ती निर्माणको काम थालेपछि कामको दिन हेरेर उनीसँगै गाउँका महिला र पुरुष जनश्रमदानमा जुट्थे।
‘गाउँमा एकै ठाउँमा चिटिक्कका घर बनाएर बस्ने र पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले काम गर्न जान्थ्यौँ, पैसा छैन भनेर काम रोकिएको पनि एक वर्ष भइसक्यो भन्ने सुनियो’, पञ्चकुमारीले भनिन्। उनले आफूलाई भूकम्पपीडितबापत आवास निर्माणका लागि सहयोग संस्थाबाट आएको पहिलो किस्ताको ५० हजार रूपैयाँ पनि पाँच वर्षअघि नै सोही बस्ती निर्माणमा दिएकी थिइन्। त्यसपछि सरकारसँग सम्झौता गरी तीनधारका ३० भूकम्पपीडित परिवारलाई पहिलो किस्ताको आवास निर्माण अनुदान दिने कारितास् नामक संस्थाले बाँकी किस्ता नदिएपछि ऋण लिएर स्थानीयवासीले बस्ती निर्माणलाई निरन्तरता दिँदै आएका थिए।
विसं २०७७ चैतमा सरकारी निकायबाट विभिन्न शीर्षकमा एक करोड ४० लाख रूपैयाँ रकम निकासा हुँदा पनि ऋणले थलिएका तीनधारका बासिन्दाले कामलाई तीव्र पारेका थिए। बस्ती निर्माणका लागि स्थानीय ३० भूकम्पपीडितको आवास निर्माणका लागि आएको पहिलो किस्ताको ५० हजार रूपैयाँ पनि खर्चिइएको छ। बस्ती निर्माण कार्य योजनाअनुसार ३० घरले अनिवार्य होमस्टेका लागि एउटा कोठा व्यवस्थित गर्नुपर्ने सम्झौता गरिएको छ।
नमुना बस्तीमा ४० लाख रूपैयाँमा एक सामुदायिक भवन निर्माण भएको छ। उक्त सामुदायिक भवनमा विवाह, व्रतबन्ध, घेवा (तामाङ समुदायको काजकिरिया), तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिकी, डम्फु, ढ्याङ्ग्रोलगायतका सामग्री सङ्ग्रहित गरिने तथा यसबारे जानकारीसमेत दिइने योजना बनाइएको छ।
६ घरको एक ब्लक बनाइ छुट्टाछुट्टै पाँच ब्लकमा ३० वटा घर बनाइने भएको हो। योजना अनुसार बस्तीको बीचमा बगैँचा बन्नेछ। होमस्टेमा आउने पाहुनाका लागि तामाङ समुदायको ‘टिपीकल’ खाना खुवाइनेछ भने तामाङ संस्कृतिसमेत बुझाइनेछ। रासस
प्रतिक्रिया दिनुहोस्