अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देल र लेखा अधिकृत, राजस्व शाखा प्रमुख किर्तिराज सुवेदीसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय सिग्देल, नगर प्रमुख चौधरी र लेखा अधिकृत–राजस्व शाखा प्रमुख किर्तिराज सुवेदी, आशिक कन्स्ट्रक्सनका सञ्चालक राम विनोद राउत बरैविरुद्ध मुद्दा दायर गरिएको हो ।
अख्तियारका अनुसार नगरपालिकाले आशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा चाँदी नदीको नदीजन्य पदार्थ उत्खनन एवं बिक्री गर्न लगाएको ठेक्कामा अनियमित तवरले नदीजन्य पदार्थ उत्खनन गरी राजस्व छली गरेको गरेको देखिएको छ । चाँदी नदीको राजमार्ग दक्षिण नदीजन्य पदार्थ बिक्री ठेक्का आशिक कन्स्ट्रकसन रौतहटसँग सम्झौता गर्दा तोकिएको नगद तथा बैक जमानत पेश नगरी नलिई मूल्य अभिवृद्धि करसमेत दाखिला नगरी नगराई सत्र लाख अठ्सठ्ठी हजार रुपैयाँ बराबरको घटी राजस्व रकम असुल गरी गरी/गराई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।
यसैगरी स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा रहेको प्रावधान विपरीत तोकिएको परिमाण भन्दा बढी नदीजन्य पदार्थ अवैध रूपमा उत्खनन् गरी/गराई सैँतीस लाख चौतीस हजार एक सय अन्ठानब्बे रुपैयाँ छ पैसा रकम बराबरको अवैध रूपमा अधिक नदीजन्य पदार्थ उत्खनन गरी/गराई नगरपालिकालाई उक्त रकम बराबर राजस्व हानिनोक्सानी पुर्याई पचपन्न लाख दुई हजार एक सय अन्ठानब्बे रुपैयाँ छ पैसा रकम राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।
उक्त कसुरमा संलग्न प्रतिवादीहरू उपर पचपन्न लाख दुई हजार एक सय अन्ठानब्बे रुपैयाँ छ पैसा बराबरको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको प्रवक्ता दाहालले बताए ।
प्रतिक्रिया दिनुहोस्