भूकम्पबाट प्रभावित जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले त्रिपाल र कम्बल वितरण सकाएको दाबी गरेका छन्। बिहीबार भूकम्पले क्षतिग्रस्त भएको घर पन्छाउन थालेको उनले बताए। जाजरकोटका लागि लगिएको राहत अन्यत्र लगेको भन्ने चर्चाबारे जिज्ञासा राख्दा उनले राहतमा कुनै भेदभाव नभएको जिकिर गरे।

‘प्रारम्भिक चरणमा यहाँ राहत वितरणमा केही राजनीति हुन खोजेपनि हामीले खबरदारी गर्‍यौँ अनि रोकियो र पुरै पीडितले पाएका छन्,’ घर्तीले नेपालखबरसँग भने, ‘हाम्रो भेरी नगरपालिकामा पहिलो चरणको त्रिपाल र कम्बल वितरण सकियो। आजदेखि टहरा निर्माणको लागि भत्केका घरका संरचना हटाउन सुरु गरेका छौँ।’रेकर्ड नै नराखी राहत वितरण हुन खोजेपनि त्ययसलाई सच्याउन सफल भएको भेरी नगरपालिकाका प्रमुख घर्तीले बताए।

उनका अनुसार खाद्यान्न वितरणमा भने अझै समस्या छ।‘खाद्यान्नको सबै वडाबाट माग आएको छ। पूर्णरुपमा घर क्षति भएको परिवारलाई खाद्यान्न सहयोग गर्ने हो, तर यहाँ कम क्षति भएका समेत खाद्यान्न माग्न आउँछन्,’ उनले थपे, ‘सबैलाई दिन सकिदैँन, यो त विकृति भयो।’‘घर पुरै भत्केर अन्न केही नभएकालाई राहत दिने हो, आंशिक क्षति पुगेकालाई दिने होइन तर, यसमै चित्तबुझाउन सकिएको छैन।’ भूकम्पबाट भेरी नगरपालिकामा मात्र ४५ जनाको मृत्यु भएको छ।

पालिका प्रेस
थप जानकारी