दसैँ अघि नै सहसचिवको सरुवा हुने चर्चा सिंहदरबारभित्र व्याप्त थियो । तर, अहिलेसम्म सरुवा हुन सकेको छैन । कर्मचारी वृत्तमा भने मुख्यसचिवले सरुवा रोकेको आरोप छ । सहसचिवको सरुवा मन्त्रिपरिषद्को बैठकले गर्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव ल्याएपछि मात्रै मन्त्रिपरिषद्ले निर्णय गर्छ । तर, अहिलेसम्म सहसचिवको सरुवा सूची मन्त्रिपरिषद्मा पुगेको छैन ।

मन्त्रिपरिषद्का एक सदस्यका अनुसार सामान्य प्रशासन मन्त्री अनिता देवीले सहसचिवको सरुवा लिष्ट मन्त्रिपरिषद्मा पेस गरेकी छैनन् । बिहीबार बसेको मन्त्रिपरिषद्मा पनि मन्त्री अनिताले सरुवा लिष्ट पेस गरेकी छैनन् । मन्त्रालयका अनुसार ५० देखि ६० जना सहसचिवको सरुवा गर्नुपर्ने बेला भएको छ । सहसचिवको सरुवा अवधि नतोकिए पनि एक वर्ष बसिसकेपछि सरुवा गर्ने प्रचलन छ । यसअघिका मन्त्री अमनलाल मोदी सहसचिव सरुवाको लिष्ट तयार गर्दै गर्दा मन्त्री पदबाट हटाइएका थिए । जनमत पार्टीबाट मन्त्री बनेकी अनिताले सरुवामा खासै ध्यान नदिँदा लामो समयदेखि सहसचिवहरु एउटै कार्यालयमा काम गर्न बाध्य छन् ।

उच्च स्रोतका अनुसार बिहीबार पनि मुख्यसचिव डा. बैकुण्ठ अर्यालले मन्त्री अनितालाई फोन गरी सहसचिवको सरुवा लिष्ट पठाइदिन अनुरोध गरेका थिए । जवाफमा अनिताले सचिवलाई सरुवा लिष्ट पठाउन निर्देशन दिएको बताएकी थिइन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकृतले रातोपाटीलाई भने, ‘पहिला त सामान्य प्रशासन मन्त्रालयबाटै सरुवा लिष्ट मन्त्रिपरिषद्मा पेस गर्नुप¥यो नि, सरुवा लिष्ट नल्याउने अनि मुख्यसचिवलाई दोष थोपर्न कहाँ पाइन्छ ?’ स्रोतका अनुसार मन्त्री अनिताले केही सहसचिवलाई आफूले भनेको ठाउँमा सरुवा गर्न खोज्दा सरुवा लम्बिएको हो । स्रोतले भन्यो, ‘मन्त्रीज्यूले केही सहसचिवलाई आफूले चाहेको ठाउँमा सरुवा गर्न खोज्नु भएको थियो, त्यसमा सहमति नभएपछि सरुवा लम्बिएको हो ।’

अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्ना तीन जना सहसचिवलाई नचलाउन मन्त्री अनितालाई सुझाएका थिए । गृह मातहत रहेका केही सहसचिव प्रमुख जिल्ला अधिकारी (सीडीओ)को रुपमा जान लबिङ गरिरहेका छन् । विशेष गरी मधेस प्रदेशमा सीडीओमा जान केही सहसचिवले मन्त्री अनितालाई भेटेरै लबिङ गरिरहेको स्रोतको भनाइ छ । तर, सहसचिवहरुलाई गृह मन्त्रालयमा सरुवा गरेपछि गृह मन्त्रीले सीडीओमा पठाउने प्रचलन छ ।

सामान्यमा केही महिना अघिमात्रै सरुवा भएर आएका कर्मचारी प्रशासन महाशाखाका प्रमुख सुमन दाहाल समेत सरुवाको तरखरमा छन् । त्यस्तै राम्रो अवसर पाए सामान्यकै योजना तथा विकास सहायता महाशाखाका प्रमुख कमल प्रसाद भट्टराई पनि सरुवा भएर जाने तयारीमा छन् । उनी यसअघि सामान्यकै कर्मचारी प्रशासन महाशाखामा थिए । तत्कालीन मन्त्री अमनलाल मोदीसँगको टकरावका कारण उनी सरुवा भएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भए पनि उनी सरुवा लिष्ट सच्याएर सामान्यमै थमौती भएका थिए । सामान्यका सहसचिव कमानसिंह थापामगर लामो समयदेखि निष्क्रिय रहेको कर्मचारी समायोजन महाशाखामा छन् । अर्का सहसचिव स्कीम श्रेष्ठ पनि सरुवा भएर जाने तरखरमा छिन् ।

थापामगर र श्रेष्ठ गृह मन्त्रालयमा सरुवा भएर जान लबिङ गरिरहेका छन् । विशेष गरी अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र गृह मन्त्रालयमा जान सहसचिवहरुको चर्को लबिङ हुने गरेको पाइन्छ । सामान्य प्रशासन मन्त्रालयका एक उपसचिवले भने, ‘सरुवा चर्चा दसैँ अघिदेखि कै थियो, तर सहसचिवहरुकै कारण रोकिएको हो, स्वार्थ केन्द्रित भएका कार्यालयमा सरुवा भएर जाने समूह धेरै देखिँदा सरुवा धकेलिएको हो ।’

-सुवास गोतामे, रातोपाटीबाट

पालिका प्रेस
थप जानकारी