मकवानपुर थाहानगरमा भैरहेको थाहा फिल्म फेस्टिभलमा ११ मंसिरमा नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’ प्रदर्शन गरिएको छ । बालबालिका केन्द्रित गरी प्रदर्शनी गरिएको चलचित्रले दर्शकहरुलाई दृश्यभाषाको मीठो स्वाद चखाएको छ । चलचित्र अवलोकनका लागि थाहानगरका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको समेत उल्लेख्य सहभागिता थियो ।

फेस्टिभलमा जनकल्याण माविका प्रधानाध्यापक सानोभाई कार्की, स्थानीय अभिभावकहरु तथा राजनीतिक दलका नेताहरुको समेत सहभागिता रहेको थियो । १५ मंसिरसम्म सञ्चालन हुने गरी थाहा कला केन्द्रको आयोजनामा भैरहेको फिल्म फेस्टिभलमा चलचित्र ‘ऐना झ्यालको पुतली’ हेरेपछि बाल्यकाललाई फन्को मारेर आएजस्तो अनुभूति भएको अभिभावकहरुले प्रतिक्रिया दिए । सुजित बिडारीबाट निर्देशित यस चलचित्रले दर्शकलाई सुदूर अतीतमा लैजान्छ र भविष्यप्रति इमान्दार बन्न प्रेरित गर्ने सन्देश दिने अभिभावकहरुले उल्लेख गरे ।

यस चलचित्रको एकैसाथ सरल र सुन्दर कला हुनसक्नु यसको विशेषता हो । जीवनमा मामुली कुराले अर्थ राख्छन् । ‘ऐना झ्यालको पुतली’ यहि बाल्यकालको मामुली क्षणहरुको ‘कोलाज’ हो । सानो मनले भोगेका दुःख, सुख, हाँसो, रोदन र उच्छवासका ठूला अनुभूतिहरु चलचित्रमा समेटिएको छ । यस चलचित्रमा आठ कक्षा पास गरेकी किशोरी विद्या (कञ्चन चिमोरिया) को लक्ष्य सहर गएर ९ र १० कक्षा पढ्ने हुन्छ । अध्ययन र व्यक्तित्व विकासको चाहनालाई उनले घरको विपन्नतासँग सम्झौता गर्नुपर्ने हुन्छ । डेढ घण्टा लामो फिल्मको केन्द्रीय द्वन्द्वले विद्या वरपर फन्को मार्छ । केन्द्रमा प्रमुख पात्रले अभाव र गरिबीसँग गर्नुपर्ने संघर्ष चित्रण गरेको छ ।

यो फिल्म एक परिवारको कथा हो जुन नेपाली विपन्न परिवारसँग जोडिएको छ । निर्देशक तथा लेखकले कथालाई समाजसँग सिधै जोडेर पात्रको चाहनामार्फत व्यवस्था र सत्तालाई प्रश्न सोधेका छन् । यो फिल्म लाखौं विद्याहरुको कथा पनि हो, जसले साना सपनालाई वर्गीय असमानाभित्र तिलाञ्जली दिनुपरेको छ । उत्कर्ष दृश्य यति जीवन्त छ कि दृश्यभाषाको सुन्दर प्रस्तुतिको रुपमा स्मरणीय हुनेछ ।

यो फिल्मको प्रोडक्सन भव्य छैन तर, जीवन्त छ । सहरभन्दा परको ग्रामीण वातावरणमा रहेर मानवीय संवेदनाको गहिराइमा कथा भन्छ । लोकेसनको ताजापन र गाउँले सेटिङले आँखालाई शीतल बनाउँछ । निष्कर्षमा, ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट फिल्म हो ।

फेस्टिभलमा फिल्म प्रदर्शन लगतै प्रतिक्रिया दिदै निर्देशक सुजित बिडारीले भने–‘चलचित्र मनोरन्जनको माध्यम मात्रै हैन चलचित्रले समाजलाइ यथार्थपरक चित्रण गरि समाज परिवर्तन गर्न ठूलो भुमिका निर्वाह गरेको छ र गरिरहेको पनि छ ।’ समाजमा चलचित्र र चलचित्रकर्मीलाई हेर्ने नजर अझै पनि फराकिलो बन्न नसकेको निर्देशक विडारीको तर्क छ । विविध फेस्टिभल तथा कार्यक्रमहरुले चलचित्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न मद्दत गर्ने उनको विश्वास छ । थाहा फिल्म फेस्टिभलले पनि यस कुरामा भरथेग गर्ने बताउँदै खुशी व्यक्त गरे ।

पालिका प्रेस
थप जानकारी