सिन्धुलीको फिक्कल गाउँपालिकामा प्रथम लगानी सम्मेलन हुने भएको छ। गाउँपालिकाले सोमबार पत्रकार सम्मलेन गर्दै सुनकोशी माध्यामिक विद्यालय खाङसाङबेँसीमा आउँदो १३ र १४ मंसिरमा लगानी सम्मेलन आयोजना गर्न लागेको हो।

लगानी सम्मेलनको पहिलो दिन बुधबार बिहान प्रभातफेरी, झाँकीहरूसहितकोे परिक्रमा, सरसफाइ गरिनेछ भने दिउँसो अर्थमन्त्री डा. प्रकाशशरण महतले कार्यक्रमको उद्घाटन गर्नेछन्। सम्मेलनको दोस्रो दिन कार्यपत्रको प्रस्तुति, छलफल र साँझमा दीपावली गरिनेछ। फिक्कल गाउँपालिकामा दीर्घकालीन विकासको जग बसाउन प्रस्थान विन्दु हुने गरी सम्मेलनको आयोजना गरिएको फिक्कल गाउँपालिकाले जनाएको छ।

पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने, रोजगारीको अवसर वृद्धि गर्ने र आमजनतालाई आय-आर्जनमा उत्प्रेरित गर्ने उद्देश्यले लगानी सम्मेलन आयोजना गर्न लागिएकोे जानकारी दिइन्।

अध्यक्ष सुनुवारले ५० अर्ब रुपैयाँबराबरको लगानी गाउँपालिकामा भित्र्याउने र फिक्कलवासीलाई स्वरोजगार बनाउने लक्ष्यसहित लगानी सम्मेलनको आयोजना गरिएको बताइन्। लगानीका लागि कृषि, जलविद्युत, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, पर्यटन, साहसिक पर्यटन, औद्योगिक क्षेत्र, हस्पिटालिटीलगायतका १० परियोजना क्षेत्रको पहिचान गरिएको पनि अध्यक्ष सुनुवारले जानकारी दिइन्।

देशभरमा स्थानीय तहमध्ये गाउँपालिकाले नै आयोजना गरेको यो नै पहिलो लगानी सम्मेलन हो।

पालिका प्रेस
थप जानकारी