फाइल फोटो

मकवानपुर थाहा नगरपालिकाको दशौं स्थापना दिवस ९ जेठमा विविध कार्यक्रम गरी मनाइने भएको छ । वि.संं २०७१ साल वैशाख २५ गते घोषणा भएको थाहा नगरको विधिवत रुपमा २०७१ जेठ ९ गते कार्यालय स्थापना गरी सेवा प्रारम्भ गरेको दिनलाई नगरपालिकाले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

स्थापना दिवसको ९ जेठ विहान थाहा नगरपालिका वडा नम्बर ४ क्याम्पाडाँडामा रहेको थाहा कबर्डहलमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनकै अवसरमा उपमेयरकप ब्याडमिन्टन प्रतियोगिता हुने सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले जानकारी दिए । दिउँसो इन्द्रायणी चौर खेल मैदानमा नगर प्रमुख–११ र प्रमुख प्रशासकीय–११ टिमबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने कार्यक्रम तय भएको छ । नगर प्रमुख ११ टिममा नगरका राजनीतिक दल प्रमुख तथा जनप्रतिनीधिहरु रहनेछन् भने प्रमुख प्रशासकीय–११ टिममा नगरपालिका र अन्तर्गतका वडा कार्यालयका कर्मचारीहरु रहने शाखा प्रमुख लामिछानेले जानकारी दिए ।

९ जेठमै नगरपालिका स्थापनादेखि विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने ३ विधामा ५ जनालाई ‘थाहा पदक’ वितरण गरिने भएको छ । नगरपालिकाले पालुङ जेसिज सभाहलमा कार्यक्रमको आयोजना गरी उक्त पदकहरु वितरण गर्ने कार्यक्रम बनाएको छ । थाहा पदक अन्तर्गत थाहा सेवा पदक दुई जनालाई, थाहा आर्थिक समृद्धि पदक दुईजनालाई र थाहा संस्कृति तारा पदक एकजनालाई वितरण गर्ने नगरपालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी