पाँचौं संस्करणको थाहा गोल्डकपको उपाधि ऋषेश्वर ११ फुटबल क्लबले चुमेको छ । थाहा नगरपालिका वडा नम्बर ४ स्वास्थ्य चोकको ऋषेश्वर–११ ले खेलकुद विकास समिति चित्लाङलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

थाहा नगरपालिकाको इन्द्रायणी चौर खेल मैदानमा १६ जेठमा भएको फाइनल खेलमा ऋषेश्वर–११ ले उपाधि चुमेसंगै नगद २ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाए । ऋषेश्वरको जितमा अमित तामाङले १ गोल, रिचार्ड विल्सनले ३ गोल, सन्जोग मोक्तानले १ गोल र सुनिल तामाङले २ गोल गरेका थिए । प्रतियोगितामा ऋषेश्वर–११ का रिचार्ड विल्सनले प्रतियोगिता अवधिभर ७ गोल गर्दै हाइ स्कोरर हुँदा बेस्ट डिफेन्डर ऋषेश्वरकै अमित तामाङ, उत्कृष्ट गोलकिपर ऋषेश्वरका नवीन सिलवाल र प्रतियोगिताको उत्कृष्ट खेलाडी ऋषेश्वर ११ का प्रदिप गुरुङ घोषित भए ।

प्रतियोगिताका उपविजेता खेलकुद विकास समिति चित्लाङले नगद १ लाखसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे । विधागत उत्कृष्ट खेलाडीहरुले नगद ५ हजार सहित ट्रफी पुरस्कार पाए भने उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । प्रतियोगितामा बिजेता तथा उपबिजेता टिमलाई थाहा नगर प्रमुख विष्णु बहादुर विष्ट तथा उपप्रमुख भरत गोपालीलगायतका अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए ।

शिखर क्लवका अध्यक्ष विश्व अर्यालको सभाध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन कार्यक्रममा शिखर क्लवका पूर्व खेलाडीहरु तथा पूर्व अध्यक्षहरुलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । पुरस्कार वितरण समारोहमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तान, थाहानगरको ३ नम्बर वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझी, ४ नम्बर वडाध्यक्ष नारायण लामा, ९ नम्बर वडाध्यक्ष राजकुमार बलामी, पूर्व खेलकुद विकास समिति संयोजक राजेश केसी, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्ट, राप्रपा थाहा नगर कार्यवाहक अध्यक्ष कुलमान तामाङ, रास्वपा नगर सभापति जयराम खत्री, पालुङ जेसीजका अध्यक्ष निरज रायमाझी, नगर खेलकुद विकास समिती सदस्य सचीव अनिल लामिछाने, सदस्य यादव रायमाझी, सुमन बिष्ट, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतका अतिथिहरुको उपस्तिथि रहेको थियो।

९ वटा टिमको सहभागिता रहेको प्रतियोगिता थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा शिखर क्लवको व्यवस्थापनमा १२ जेठबाट शुरु भएको थियो ।

पालिका प्रेस
थप जानकारी