संघीय सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि स्थानीय तह तथा प्रदेश सरकारलाई विशेष अनुदान र समपुरक अनुदानको बजेट विनियोजन गरेकेो छ । मकवानपुरका ६ स्थानीय तहलाई ६ करोड विशेष अनुदान पठाएको छ । ३ वटा स्थानीय तहले भने विशेष अनुदान नै पाएका छैनन् । १५ जेठमा भएको संघीय सरकारको बजेट भाषण मार्फत पालिका र प्रदेश सरकारलाई बजेट पठाइएको हो । बजेट पठाइएका मध्ये ३ वटा नयाँ र ४ वटा पालिकाको क्रमागत योजनालाई बजेट विनियोजन भएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिले क्रमागत योजनातर्फ बहुआयमिक वृहत लिफ्टिङ खानेपानी योजना पुरण्डीलाई १ करोड २० लाख, थाहा नगरपालिकाको क्षयरोग मुक्त अभियानका लागि कार्यक्रम कार्यक्रम अन्तर्गत नै १ करोड, भीमफेदी गाउँपालिका पोखरी प्रा.वि भवन निर्माण क्रमागत योजनालाई १ करोड तथा हेटौंडा उपमहानगरपालिका श्रमिक मावि भवन निर्माण क्रमागत योजनालाई १ करोड ३० लाख रुपियाँ बजेट विनियोजन भएको छ ।

त्यसैगरी बागमती गाउँपालिका गुन्द्रकखोला खानेपानी नयाँ आयोजनालाई ५० लाख, राक्सिराङ गाउँपालिकाको चेपाङ बालबालिकाको गुणस्तरीय प्रारम्भिक बाल विकास तथा आधारभूत शिक्षा सुधारको नयाँ कार्यक्रमलाई ५० लाख र मकवानपुरगढी गाउँपालिकाको शारदा मावि भवन निर्माणको नयाँ योजनाका लागि ५० लाख रुपियाँ विनियोजन भएको छ । मकवानपुरको मनहरी, कैलाश र बकैया गाउँपालिकाले विशेष अनुदान पाएका छैनन् ।

यसैबीच मकवानपुरका ७ पालिकाले ८ वटा समपुरक योजनाका लागि बजेट पाएका छन् । बजेट विनियोजन भएका मध्ये ६ वटा क्रमागत र २ वटा नयाँ योजना रहेका छन् । मकवानपुरका स्थानीय तह मध्ये इन्द्रसरोवर गाउँपालिको क्रमागत योजना तर्फको सानुटार ठुलाटार दम्की सडकका लागि १ करोड ५० लाख, थाहा नगरपालिका दामन पिङडाँडा भट्टीडाँडा तसर सडक थाहा–५ क्रमागत योजनालाई १ करोड, बकैया गाउँपालिकाको हात्तीसुडे, शिखरपुर मन्थली सडक क्रमागत योजनालाई १ करोड ३५ लाख र बकैयाकै बकैया कृषि उद्योग ग्राम बकैया–७ हात्तीखोलाको क्रमागत योजनालाई १ करोड ५० लाख बजेट विनियोजन भएको छ ।

त्यस्तै भीमफेदी गाउँपालिका रानीखोला धामीडाँडा रानीभन्ज्याङ सडक स्तरोन्नती क्रमागत योजनालाई १ करोड ४० लाख र हेटौंडा उपमहानगरपालिका पदमपोखरी मुख्य सडक विस्तार क्रमागत योजनालाई ३ करोड ५० लाख बजेट विनियोजन भएको छ ।

कैलाश गाउँपालिकाले नयाँ योजनाको रुपमा अघि सारेको मनहरी खोला पक्कीपुलदेखि नामटार कालिकाटार सडक (स्ल्याब ढलान तथा कालोपत्रे) लाई ६५ लाख तथा मनहरी गाउँपालिका लामिटार चकरी सडक खण्ड नयाँ योजनालाई १ करोड बजेट विनियोजन गरेको योजना आयोगले जनाएको छ । मकवानपुरको बागमती, मकवानपुरगढी र राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि समपुरक अनुदान प्राप्त गरेका छैनन् । समपुरक अनुदानतर्फ संघ बाट मकवानपुरका स्थानीय तहहरुले ११ करोड ९० लाख पाएका छन् ।

त्यसैगरी बागमती प्रदेश सरकारले संघीय सरकारसं समपुरक योजनाको रुपमा काम गरिरहेको डाँडाबास दामगाडे महादेववेशी सडक आयोजना थाहा–७, ८ र थाक्रे ३ धादिङ क्रमागत योजनालाई १९ करोड ५० लाख रुपियाँ बेट विनियोजन गरेको छ ।

दिनेश दर्पण
थप जानकारी