थाहा नगरपालिकको ९ वटा वडा ‘पूर्ण संस्थागत सुत्केरी वडा’ घोषणा भएको छ । २४ जेठमा १ नम्बर वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेसंगै घोषणा हुने वडाको संख्या ९ पुगेको हो ।

नयाँवस्ती आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित समारोहमा १ नम्बर वडालाई थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेका हुन् । विष्टले घोषणा समारोहमा थाहाका स्वास्थ्य संस्थाको स्तरोन्नतितर्फ आफू लागि परेको बताउदै यस कार्यमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरु धन्यवादका पात्र रहेको उल्लेख गरे।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रशाशक कृष्ण मिजारले अब पूर्ण सुरक्षित मातृत्व जिल्ला घोषणाका लागि सबै स्थानीय तह र स्वास्थ्य संस्थाहरु लाग्नुपर्ने बताउदै यस्ता सन्देश जिल्लाको वडावडामा पुग्नुपर्ने बताइ । कार्यक्रममा आगामी आर्थिक वर्षभित्र नगरपालिकालाई नै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने लक्ष्य लिइएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए ।

   

तीन आर्थिक वर्षयता सबै महिला स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी भएको पाइएपछि पूर्ण संस्थागत सुत्केरीयुक्त वडा घोषणा गरिएको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । स्वास्थ्य कार्यालय मकवानपुरबाट प्रमाणिकरण पश्चात् घोषणा गरी वडालाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ । कार्यविधि अनुसार ९८ प्रतिशत गर्भवती स्वास्थ्य संस्थामै सुत्केरी भएको, सरकारको मापदण्डअनुसार ९० प्रतिशतले गर्भवती टिडी खोप लगाएको, आइरन चक्की– जुकाको औषधि खाएको, नियमित रूपमा गर्भ जाँच गराएको लगायत मापदण्डअनुसार पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिनेछ ।

यस अघि थाहा नगरपालिकाको अब ३ वडा ७, ८ र ५ पुर्ण संस्थागत सुत्केरी वडा घोषणा हुन बाकी रहेको थाहा नगर स्वास्थ्य शाखाले जनाएको छ। वडा न १ का कार्यवाहक वडा अध्यक्ष सरोज प्रधानको अध्यक्षतामा भएको घोषणा सभामा थाहा नगर भित्र रहेका स्वास्थ्य संस्थाका प्रमुखहरु, स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका पदाधिकारी, महिला स्वयंसेविका, स्वास्थ्यकर्मी, कुन्छाल महिला बासुरी समुहका सदस्यहरुलगायतका उपस्थिति रहेको थियो।

कार्यक्रममा वडालाई पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न खटिएका स्वास्थ्यकर्मी नयाँबस्ती आधारभुत स्वास्थ्य केन्द्रका अनमी कलावती गोपालीलाई सम्मानित गरिएको थियो।कार्यपालिका सदस्य अनिता बलले संचालन गरेको कार्यक्रमलाई संस्थाकी प्रमुख शिसम बिडारीले स्वागत गरेकी थिइन। नेपाल सरकारले सन् २०३० सम्म अस्पतालमै सुत्केरी गराउनेको संख्या ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।

पालिका प्रेस
थप जानकारी