मकवानपुरमा गाउँपालिकाले आफ्नै स्रोतबाट करिब २० करोड रुपैयाँ लागतमा तीनवटा मोटरेवल पुल निर्माणको काम सम्पन्न गरेको छ । मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नै आन्तरिक लगानीमा लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन ५ वटा पक्की पुलमध्ये हालसम्म सम्पन्न भएका ३ वटा पुलको शनिबार बागमती प्रदेश सभा सदस्य ईन्द्र बानीयाँले उद्घाटन गरे ।

गाउँपालिकाको वडा नम्बर १ र २ जोड्ने च्यापलखोला पुल, ३ र ४ जोड्ने ट्वाङग्रा खोला पुल तथा ३ र ४ वडालाई नै जोड्ने मसिने खोला पुल निर्माण सम्पन्न भएको छ । ३ वटा पुल निर्माण सम्पन्न गर्न १९ करोड ३८ लाख रुपैयाँ लागत लागेको जनाएको छ । निर्माण सम्पन्न भएका मध्ये ९७.९ मिटर लम्बाईको च्यापल खोला पुलको लागत ६ करोड २८ लाख ९८ हजार, ६४.१५ मिटरको ट्वाङग्रा खोला पुलको ६ करोड ४९ लाख ६० हजार र ७४.५५ मिटर लम्बाईको मसिने खोला पुलको ६ करोड ५९ लाख ५० हजार लागत रहेको गाउँपालिकाले जनाएको छ ।

उक्त क्षेत्रमा खोला तथा खहरेमा पुल अभावका कारण स्थानीय बासिन्दाहरु हेटौंडा उपमहानगरपालिका भएर गाउँपालिकाको केन्द्रसम्म पुग्नुपर्ने वाध्यता थियो । पुल अभावका कारण आवतजावतमा समस्या झेल्दै आएका स्थानीयका लागि पालिकाको ३३ करोडको लागतमा २०७७ सालमा २ वर्षभित्रै सम्पन्न गर्नेगरी पाँचवटा पक्की पुल निर्माणको काम थालिएको भए पनि विविध समस्याका कारण निर्माण पक्षले समय थप गरी तीनवटा पुल निर्माण सम्पन्न गरेको छ ।

गाउँपालिकाकै बजेटमा अन्य २ वटा पुल भने निर्माणाधीन अवस्थामा रहेका छन् । ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा सम्झौता गरी निर्माणाधीन ठाडोखोला पुलको काम करिब ८५ प्रतिशत र ५ करोड ३५ लाख ५१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको हाँडीखोला पुलको काम करिब ६५ प्रतिशत सकिएको गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए ।

तत्कालिन गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले हेटौंडा उपमहानगरपालिका–१३ हुँदै मनहरीको १ देखि ४ नम्बर वडालाई जोड्दै वैकल्पिक मार्गको विकास गर्ने अवधारणाअनुसार एकैसाथ ५ वटा पुल निर्माण सुरु गरेको थियो । यो सडकअन्तर्गत सबै पुल निर्माण हुने र सडक पनि स्तरोन्नती हुँदा त्यस क्षेत्रका कृषिउपजको बजारीकरणमा सहजता हुने र स्थानीयबासीको पनि दैनिक जीवनयापन सहज हुने अपेक्षा गरिएको छ ।

पालिका प्रेस
थप जानकारी