जिल्ला प्रशासन कार्यालय मकवानपुरले सामाजिक सुरक्षा प्राप्त गर्ने वृद्धवृद्धा र अपांगता भएका लाभग्राही लक्षित राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार राष्ट्रिय परिचयपत्रको विवरण दर्ताको लागि २ वटा टोली खटाइएको छ । पहिलो टोलीले जेठ ३० गतेदेखि असार १ गतेसम्म राक्सिराङ गाउँपालिकामा, असार ३ गतेदेखि ६ गतेसम्म कैलाश गाउँपालिकामा, असार ८ गतेदेखि १३ गतेसम्म थाहा नगरपालिकामा, असार १५ गतेदेखि १८ गतेसम्म इन्द्रसरोवर गाउँपालिकामा विवरण दर्ता गर्नेछन् ।

त्यस्तै दोस्रो टोलीले जेठ ३१ गतेदेखि असार २ गतेसम्म वागमती गाउँपालिकामा, असार ४ गतेदेखि ७ गतेसम्म बकैया गाउँपालिकामा, असार ९ गतेदेखि १२ गतेसम्म मकवानपुरगढी गाउँपालिकामा, असार १४ गतेदेखि १७ गतेसम्म भीमफेदी गाउँपलिकामा, असार १९ गतेदेखि २२ गतेसम्म मनहरी गाउँपालिकामा विवरण दर्ता गर्नेछन् । नागरिकले राज्यबाट सेवासुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग अनिवार्य गर्दै जाने सरकारले रणनीति अघि सारेको छ । राष्ट्रिय परिचयपत्रमा उल्लेखित नम्बरका आधारमा नागरिकले पाउने सेवासुविधासहित व्यक्तिको आर्थिक र व्यापारिक कारोबारको सबै विवरण हेर्न सकिने सफ्टवेयरको परीक्षण भइरहेको छ ।

एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्लामा रहेका ९ ओटा पालिकासँगको समन्वयमा उक्त पालिकाको केन्द्रमा बुधबारदेखि टोली खटाउने भएको हो । मकवानपुर जिल्लाको ९ वटा पालिकाको केन्द्रमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ताको लागि टोली खटाइएको छ, भने हेटौंडा उपमहानगरपालिकाभित्र रहेको सामाजिक सुरक्षा भत्ताको लाभग्राहीहरुले जिल्ला प्रशासन कार्यालयमा नै विवरण दर्ता गराउन सक्ने बताइएको छ ।

राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउन जिल्ला प्रशासन कार्यालयमा वृद्धवृद्धा र अपांगता भएकाहरु भीड लाग्न थालेपछि प्रशासन कार्यालयले सेवाग्राहीको सहजताका लागि पालिकाको केन्द्रमा परिचयपत्रको विवरण दर्ता गर्ने टोली खटाउने निर्णय गरेको हो । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८१/२०८२ देखि सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउनेको भीड बढेको थियो ।

राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउन विशेषतः ज्येष्ठ नागरिक र अपांगता भएका ब्यक्तिहरुले सास्ती पाएका थिए । शारीरिक रुपमा अशक्त बनिसकेका ज्येष्ठ नागरिकले परिचयपत्रको लागि विवरण दर्ता गराउन दिनभर लाइन बस्नुपर्दा कष्ट भोगेका थिए ।राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउनको लागि जिल्लाका दुर्गम क्षेत्रका वृद्धवृद्धाहरु लठ्ठीको सहारामा र अपांगता भएका ब्यक्तिहरुले कार्यालय आउँदा निकै कष्ट व्यहोर्नु परेकोले उक्त विवरण दर्ताकोलागि पालिकाको केन्द्रमा नै टोली पठाउन लागेको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए ।

आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता र पेन्सनको नवीकरण बायोमेट्रिक भेरिफिकेसनमार्फत गर्ने प्रणाली लागू गर्ने निर्णय भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले बताए । हाल देशभर ३८ लाख ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् । पेन्सनबापत भने बर्सेनी करिब ७७ अर्ब खर्च हुने गरेको परिचयपत्र विभाागले जनाएको छ । परिचयपत्र अनिवार्य गरेपछि एउटै व्यक्तिले दोहोरो सुविधा लिन खोजे प्रणालीले नै रोक्ने सफ्टवेयर निर्माण गरिएको छ । पेन्सन र सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिकका लागि पनि परिचयपत्रले सजिलो बनाउने विभागले जनाएको छ ।कुनै पनि नागरिकले राष्ट्रिय परिचयपत्र साथमा बोकेपछि अन्य परिचयपत्र नचाहिने व्यवस्था गर्न लागिएको महानिर्देशक कट्टेलले बताए ।

व्यक्तिगत जीवनमा आइपर्ने सबै क्षेत्रमा राष्ट्रिय परिचयपत्रलाई उपयोग गर्ने गरी रणनीति बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य बनाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चिलुवालले बताए ।पालिकाको केन्द्रमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सामाजिक सुरक्षा भत्ताको लाभग्राहीलाई केन्द्रित गरि सञ्चालन गरिएको र अन्य व्यक्तिका हकमा जिल्ला प्रशासन कार्यालयबाट नियमित राष्ट्रिय परिचयपत्रको विवरण दर्ता हुने प्रशासकीय अधिकृत सरोज पौडेलले बताए ।

पालिका प्रेस
थप जानकारी