कैलाश गाउँपालिका–४ देउरालीका स्थानीयले आफ्नै लगानीमा अढाई किलोमिटर नयाँ ट्रयाक खनेर गाउँमा मोटरबाटो पु¥याएका छन् । अढाइ किलोमिटर पुरानो ट्रयाकलाई स्तरीकरण गर्ने र अढाई किलोमिटर नयाँ ट्रयाक खन्ने काम स्थानीयकै सक्रियतामा भएको हो ।

राक्सिराङ गाउँपालिकाको लावती–गर्खाल–चम्पाखानी ग्रामीण सडक स्तरोन्नति तथा नयाँ ट्रयाक खन्ने कार्यको लागि ४४ जना सहयोगी ब्यक्तिबाट २ लाख ७५ हजार रुपैयाँ चन्दा उठाइएको थियो । स्थानीय देउराली सामुदायिक संस्थाबाट ५ लाख ७३ हजार रुपैयाँ आर्थिक सहयोग भएको थियो । स्थानीयले जनश्रमदान अन्तर्गत २ लाख ६१ हजार ६ सय रुपैयाँ बराबरको श्रमदान गरेका थिए । राक्सिराङ गाउँपालिकाले १३ घण्टा मेसिन निःशुल्क उपलब्ध गराएको, कैलाश गाउँपालिकाले ५ सय लिटर डिजल सहयोग गरेका र लालीगुराँस सिमेन्ट उद्योगको लिक्चे खानीबाट १४ घन्टा ब्रेकर मेसिन उपलब्ध गराई सहयोग गरेका थिए । कुल ११ लाख ९ हजार ६ सय रुपैयाँको लागतमा ५ किलोमिटर बाटो खन्ने तथा स्तरोन्नति गरी स्थानीयले आफ्नै लगानीमा गाउँमा मोटर पु¥याएका हुन् ।

समितिका अध्यक्ष केशव मुक्तानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कैलाश गाउँपालिका पूर्वअध्यक्ष टंकबहादुर मुक्तानले जनताको आवश्यकता के हो ? भन्ने कुरा नेतृत्वले बुझ्नुपर्ने बताए । बढी रकम सहयोग गर्ने देउराली सामुदायिक संस्थाका अध्यक्ष रामसिंह थिङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा राक्सिराङ गाउँपालिका ३ नम्बर वडाका पूर्ववडाध्यक्ष बाबुलाल स्याङ्तान, स्थानीय अगुवा बिष्णुलाल चेपाङ लगायतले सडक खन्दा आएको समस्या तथा आगामी दिनमा सडकलाई स्तरीकरण गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।

पालिका प्रेस
थप जानकारी