मकवानपुरको थाहा नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । थाहालाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान तथा जिल्ला जन स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य प्रशासक कृष्ण मिजारले संयुक्त रुपमा ३१ असारमा नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेका हुन् ।

पूर्णखोप निर्देशिका २०७१ को आधारमा थाहानगरलाई सुनिश्चितता नगरपालिका घोषणा गरिएको जनस्वास्थ्य प्रशासक मिजारले बताए । यसअघि थाहानगरका सबै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको थियो । यसका लागि १२ वटै वडामा रहेका वडास्तरीय खोप समन्वय समिति क्रियाशील भएका थिए । निर्देशिकामा उल्लेखित सूचकका आधारमा पूर्णखोप सुनिश्चितता घोषणा गरिएको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताए ।

स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक महिना थाहाको २९ वटा खोप केन्द्रबाट नियमित खोप सेवा सञ्चान गर्दै आएको छ । त्यसैगरी घरभेट, सर्वेक्षण गरी उमेरअनुसार खोप पाए÷नपाएको यकिन गर्ने लगायतको कार्य गर्दै आएको छ । यि सबै प्रक्रिया पूरा गरेर पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

 थाहा नगरपालिकामा १६ महिना देखि २३ महिना सम्म उमेरका ५ सय ५० जनाले पूर्ण मात्रामा लगाएको पालिकाले सर्वेक्षण गरेको तथ्याङ्क रहेको छ भने ० देखि १५ महिना सम्मका ६ सय ४१ जनाले खोप लगाएको तथ्यांक छ । पालिकाका करिब ९५ प्रतिशतले खोप लगाएको स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले आवश्यक तथ्य पेश भएको र सोही तथ्यका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको बताए। उनले अब जिल्लाको चार वटा पालिका पूर्णखोप सुनिश्चितता हुन बाँकी रहेको भन्दै छिटो घोषणा गरि जिल्लालाई नै घोषणा गर्नुपर्ने बताए । प्रमुख घलानले अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता स्वरुप आफ्नो जनताको स्वास्थ्य लागि भुमिका खेलिरहेको बताउदै पूर्णखोप सुनिश्चितताको लागि खटिने सम्पुर्ण स्वास्थ्यकर्मी र स्वयंसेवीकाहरु धन्यवादका पात्र रहेको बताए।

सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजारलेले बताए । कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख घलानले थाहा नगरपालिका प्रमुख बिष्णु बिष्टलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा नगर प्रमुख बिष्टले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने स्वास्थ्यकर्मी र कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले.खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने उल्लेख गरे ।

थाहा नगरपालिकामा ५ वटा स्वास्थ्य संस्था, प्राथमिक स्वास्थ्य केन्द्र १ वटा, ३ वटा आधारभूत स्वास्थ्य केन्द्र र ३ वटा सहरी स्वास्थ्य केन्द्र रहेका छन् । १२ वटा वडा रहेको थाहा नगरपालिकाको वडा नम्बर ५ लाई पूर्ण संस्थागत सुत्केरी वडा समेत घोषणा गरिएको छ ।

घोषणा समारोहमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नेपाली काँग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी, जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा नगर खोप समन्वय समितिका सदस्य सानोभाइ कार्कीले शुभकामना दिएका थिए । कार्यक्रममा सहभागीहरुले थाहा नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका बनेको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए।

पालिका प्रेस
थप जानकारी