मकवानपुरको थाहा नगरपालिकामा एकसाथ जापानिज भाषा, कोरियन भाषा र आयल्सको कक्षा शुरु गरिएको छ । काठमाडौंको बानेश्वर र कलंकीमा कार्यालय रहेको ग्लोबल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले थाहा नगरपालिकाको वडा नं. ३ थानाबजारमा कार्यालय स्थापना गरेर यी तीन थरीको कक्षा शुरु गरेको हो ।

तीनवटै कक्षा २ साउनबाट शुरु गरिएको ग्लोबल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत जीवन बस्नेतले जानकारी दिए । थाहा नगरपालिकामा कक्षा १२ उत्तीर्ण गरेर उच्च शिक्षाका लागि अमेरिका, युके, अष्ट्रेलिया, जापान, कोरिया, क्यानडा जस्ता मुलुकहरुमा जानेहरुको सङ्ख्या बढ्दै गरेको तर स्थानीय स्तरमा भाषा अध्ययनको अबसर नहुँदा खर्च, समय र पारिवारिक हिसाबले समस्या भोगिरहेकोले थाहामै कक्षा शुरु गरिएको बस्नेतको भनाइ रहेको छ ।

ग्लोबल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले थाहामा जापानिज भाषा र कोरियन भाषाको दैनिक ३÷३ वटा कक्षा सञ्चालन गरिरहेको छ भने आयल्सको एउटा कक्षा सञ्चालन गरिरहेको छ । विदेशमा अध्ययन गर्न जाँदा कुनै पनि विद्यार्थीको अँग्रेजी भाषाको क्षमता परीक्षणका लागि आयल्स पढ्नुपर्ने हुन्छ । यी कक्षाहरु सञ्चालनको लागि थाहानगर र नगरबाहिरबाट दक्ष तथा अनुभवी शिक्षकहरुको व्यवस्था गरिएको ग्लोबलका अर्का सञ्चालक रचना बस्नेतले जानकारी दिइन् । ‘हामीलाई थाहाका विभिन्न भेगहरुबाट जापानिज, कोरियन, आयल्स अध्ययनका लागि फोन आइरहेको छ, उहाँहरुको समय अनुकूलता हेरेर थप कक्षाहरुको पनि व्यवस्था गर्दैछौं’ उनले भनिन् ।

कुनैबेला काठमाडौंमा गएर जापानिज भाषाको कोर्श पुरा गरेकी थाहा–२ की रुपा विष्ट अहिले थाहानगरस्थित सोही इन्स्टिच्युटमा काम गर्छिन् । थाहा टाइम्ससित कुरा गर्दै उनले भनिन्–‘काठमाडौंमा गएर पढ्नुपर्दा खानबस्न, गाडीभाडा लगायत अन्य कुरामै बढी खर्च हुने, घरपरिवारबाट पनि टाढा । स्थानीय क्षेत्रमा निकै सहज अनि सुलभ पनि ।’ यही कारण इन्स्टिच्युटमा विद्यार्थीहरुको आकर्षण बढिरहेको उनले बताइन् ।

प्रमुख कार्यकारी अधिकृत बस्नेतका अनुसार ग्लोबल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले विदेशमा उच्च शिक्षाको लागि आवश्यक आधार, प्रक्रिया, लगानी आदिका बारेमा परामर्श पनि प्रदान गर्दै आइरहेको छ ।  संस्थाले अष्ट्रेलिया, अमेरिका, जापान, युके, कोरिया, फिनल्याण्ड, डेनमार्क लगायत ४० भन्दा बढी देशहरुमा ‘स्टुडेन्ट भिसा’ का लागि प्रक्रियामा सहजीकरण गरिरहेको उनले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी