मनहरी गाउँपालिका–१ का वडा अध्यक्ष शिवप्रसाद खनाल पनि कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका छन् । ५२ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिएका वडाअध्यक्ष खनाल पास भएका हुन् । पढाइलाई उमेरले छेक्दैन भन्ने उदाहरणलाई स्थापित गर्दै उनले जीवनको यो उमेरमा पढाइलाई निरन्तरता दिएका थिए ।

आफ्नो छोराछोरीको उमेरका बालबालिकाहरुसँगै पठनपाठन गर्दै उनी कक्षा १२ को परीक्षामा सहभागी थिए । उनले २ दशमलव ४१ जीपीए प्राप्त गरेका छन् । यसभन्दा अघिल्लो वर्ष कक्षा ११ को परीक्षामा पनि २ दशमलव ५३ जीपीए प्राप्त गरी उनी उत्तीर्ण भएका थिए । ‘पढ्नलाई उमेरले छेक्दैन, इच्छाशक्ति चाहिन्छ’ भन्ने कुरालाई खनालले चरितार्थ गरिदिएका छन् । खनालले निर्मल बहुमुखी क्याम्पस बस्तिपुरबाट परीक्षा दिएका थिए ।

राजनीतिक तथा सामाजिक काम गर्दा शिक्षाको अति नै महत्वपूर्ण भूमिका हुने भन्दै उनले अब पढाइलाई निरन्तरता दिने बताए । उनी १ नम्बर वडाका वडाध्यक्ष एवम् बाल जीवन ज्योति माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका छन् । २०५६ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेका खनालले पढ्ने चाहना र इच्छा हुँदाहुँदै घरको परि स्थितिले गर्दा पढाइलाई निरन्तरता दिन नसकेर पढाइलाई बिचमै छाडेका थिए । ‘घरमा समस्या थियो, आर्थिक विपन्नताले एसएलसी पछिको शिक्षालाई अगाडि बढाउन सकिनँ’, उनले १२ कक्षाको परीक्षा दिने क्रममा यस्तो प्रतिक्रिया दिएका थिए ।

उनी वडाबाट समय मिल्दा बेला बेलामा विद्यालय अध्ययन गर्न समेत जाने गरे । जसले पढ्यो, त्यसले जित्यो भन्ने अभिप्रायका साथ उनी विद्यालयका अन्य विद्यार्थीहरूसंग सहभागि भएर अध्ययन गर्दै आइरहेका छन । उनी अध्ययन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । उनले अध्यक्ष भएपछि सो विद्यालयमा ११ र १२ कक्षा सञ्चालन गरेका थिए । खनाल दुई पटक वडाध्यक्षमा निर्वाचित भएका छन् ।

पालिका प्रेस
थप जानकारी