हेटौंडा उपमहानगरपालिकाले सहकारी संघसंस्थाहरुको लागि गत नगरसभाबाट पारित सहकारी संघ संस्थाले तिर्ने ब्यवशाय करको दर अब्यवहारिक रुपमा बृद्धि गरेकोमा सोको पुनर्विचारको लागि हेटौंडा उपमहानगरलाई सहकारी सञ्जाल मकवानपुरले नगरप्रमुख र उपप्रमुखलाई ध्यनाकर्षण गराएको छ ।
मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको अध्यक्षतामा २२ साउनमा हेटौंडामा बसेको जिल्ला सहकारी सञ्जालको बैठकले सो कर सहकारी संघ संस्थाको हितमा नभएकोले पुनः बिचार गर्नको लागि ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । सोही अनुसार सहकारी सञ्जाल मकवानपुरले बुधबार हेटौडा उपमहानगरपालिकाको कार्यालयमा बुझाएको ध्यानकर्षण पत्रमा “सहकारी क्षेत्रको आर्थिक अवस्था जटिल भईरहेको समयमा सरोकारवालाहरुसंग बिना परामर्श एकपक्षिय रुपमा अबैज्ञानिक र अब्यवहारिक रुपमा बृद्धि भएको ब्यवसाय करलाई ब्यवहारिक र एकरुपता कायम गर्नका लागि अविलम्ब करको दर पुर्नबिचार गर्न अनुरोध गर्दछौ ।” उल्लेख गरिएको छ ।
गत नगरसभाले हेटौडा उपमहानगरपालिकामा रहेका बहुउद्देश्यीय सहकारी संघ संस्थाहरुलाई बार्षिक १२ हजार रुपैंया, बचत तथा ऋण सहकारी संघ संस्थाहरुलाई ८ हजार रुपैंया, अन्य सहकारी संघ संस्थाहरुलाई ५ हजार, दुग्ध उत्पादक र कृषि सहकारी संघ संस्थाहरुलाई १ हजार पाँच सय रुपैंया ब्यवशाय कर निर्धारण गरेको थियो । अघिल्लो बर्ष उपमहानगरपालिकाले सबै बिषयका सहकारी संघ संस्थाका लागि समान २ हजार ५ सय रुपैंया ब्यवशाय कर लिने गरेको थियो ।
सहकारी सञ्जाल मकवानपुरले दुग्ध उत्पादक र कृषि सहकारी संघ संस्थाहरुलाई उपमहानगरपालिकाले गत बर्षभन्दा ब्यवशाय कर घटाएकोमा धन्यवाद दिँदै बाँकी संघ संस्थाहरुको हकमा बृद्धि गरिएको करको दरलाई घटाई दुग्ध उत्पादक र कृषि सहकारी संघकै समान दर कायम गर्न अनुरोध गरिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख मिना कुमारी लामाले करको दरलाई अर्को नगरसभाबाट परिमार्जन गर्ने बताईन् । त्यस्तै उपप्रमुख राजेश बानिँयाले सहकारी संघ संस्थाको ब्यवशाय कर निर्धारणको सन्दर्भमा सहकारी सञ्जालको सुझावलाई आत्मसाथ गरि अगाडि बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस्