बागमती प्रदेश लोकसेवा आयोग चार महिनादेखि अध्यक्षविहीन बनेको छ । तल्कालीन अध्यक्ष सुरेशमान श्रेष्ठले गत चैत ३ गते उमेर हदका कारण अवकाश लिएसँगै आयोगको अध्यक्ष पद रिक्त बनेको हो ।

प्रदेशका मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्षी दलको समितिबाट सिफारिस भएर नयाँ अध्यक्ष नियुक्त हुने प्रावधान भए पनि हालसम्म नियुक्त हुन सकेको छैन ।
वाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव गोविन्दबहादुर कार्कीका अनुसार मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्षी दलले समयमा नै सहमति जुटाएर नयाँ अध्यक्ष सिफारिस गर्न नसक्दा हाल प्रदेश लोकसेवा आयोग अध्यक्षविहीन बनेको छ । ‘अहिले फेरि सरकार परिवर्तन भएपछि नियुक्तिको प्रक्रिया नयाँ ढंगले अगाडि बढ्न सक्छ,’ उनले भने, ‘अहिलेका मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्षी दलले अध्यक्ष नियुक्तिको कुरा कसरी र कहिले टुंग्याउछन भन्ने कुरा हो । उहाँहरूबीच सहमति भए चाँडै पनि नियुक्त हुन सक्छ ।’

मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशसभाका सभामुख र प्रदेशसभाको विपक्षी दलको नेता सदस्य रहेको सिफारिस समितिले अध्यक्ष र सदस्यमा नियुक्तिका लागि सिफारिस गर्ने ऐनमा व्यवस्था छ । ऐनको दफा ३ मा व्यवस्था गरिएबमोजिम सिफारिस समितिले आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि निर्णय गरी सरकारलाई जानकारी गराउनेछ । सरकारले प्रदेश प्रमुखसमक्ष नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था छ ।

वाग्मती प्रदेश लोकसेवा आयोगका सूचना अधिकारी राजु अर्यालले आयोग अध्यक्षविहीन हुँदा केही सेवा प्रवाहमा असहज भइरहेको छ । कुनै निर्णय गर्न अध्यक्ष नै चाहिने अवस्था हुने उनको भनाइ छ ।

आयोगको अध्यक्ष बन्नका लागि ऐनको दफा ५ (क) र (ख) अनुसार मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने र नियुक्ति हुँदाको समयमा कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने व्यवस्था छ । ऐनको दफा ५ (ग) अनुसार अध्यक्ष बन्न ४५ वर्ष र सदस्यको हकमा ३५ वर्ष पूरा भएको हुनुपर्ने छ भने (घ) अनुसार उच्च नैतिक चरित्र भएको योग्यता हुनुपर्ने व्यवस्था छ ।

पालिका प्रेस
थप जानकारी