कारागार व्यवस्थापन विभागले कैदीलाई कैद छुट गरी जेलमुक्त गर्न थाहा नगरपालिकाका १ जनासहित मकवानपुर जिल्लाको ६ जनाको नामावली प्रस्ताव भएको छ । विभागले असोज ३ मा संविधान दिवसको अवसर ५० प्रतिशतभन्दा बढी कैद सजाय भुक्तान गरेका ४ सय ९२ कैदीलाई कैद छुट गरी जेलमुक्त गर्ने प्रक्रिया अघि बढाएको हो ।
प्रक्रियामा अघि सारिएको मध्ये कर्तव्य ज्यान र डाँका मुद्दामा जेल परेका मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ का विर बहादुर गोले पनि छन् । उनी कर्तव्य ज्यान र डाँका मुद्दामा वि.सं. २०७८ पुस ५ गते कैद परेका थिए । त्यस्तै मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ का माधव तामाङ लामा भन्ने मायते गोले र विजय गोले पनि छन् । उनीहरु गैडा मारी खाग बिक्रि व्यवसाय सम्बन्धी मुद्दामा जेल परेका थिए । २०७१ कार्तिक ५ गते कैद परेका दुवैलाई जेल मुक्त गर्नका लागि प्रकाशित सूचनामा प्रस्ताव गरिएको छ ।
त्यसैगरी नकबजनी चोरी र अभद्र व्यवहार मुद्दामा २०७९ साउन ९ गते कैद परेका हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ संजय देउला पनि कैद मिनाहाको लिस्टमा छन् । नकबजनी चोरी मुद्दामै २०७९ साउन ९ गते कैद परेका हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का दिवस बल लामा, बहु विवाह मुद्दामा २०८० असोज २२ गते कैद परेका हेटौंडा–१७ का अन्जन प्रसाद कोइराला र कर्तव्य ज्यान मुद्दामा २०७२ पुस २२ गते कैद परेकी बकैया गाउँपालिका वडा नम्बर ५ की रमिला माझी पनि कैद मिनाहाको सिफारिसमा परेकी छिन् ।
विभिन्न कसुरमा कैदमा रहेका कैदीहरूको कैद छुटका लागि सार्वजनिक सूचना आह्वान नै गरेर विभागले प्रक्रिया अघि बढाएको हो । कारागार व्यवस्थापन विभागले सूचना जारी गर्दै कैदीबन्दीको नामावलीसहित सातदिने सूचना निकालेको छ । कैद कट्टा गर्न लागिएका व्यक्तिमाथि कुनै गुनासो भए सात दिनभित्र उजुरी दिन विभागले सूचना जारी गरेको छ । सरकारले एक वर्षमा विभिन्न उपलक्ष्यमा चार पटकसम्म कैद कट्टा गरेर कैदीहरूको रिहा गर्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्