थाहा नगरपालिका वडा नम्बर १, २, ३ र ४ मा निर्माणाधिन पालुङ वृहत खानेपानी आयोजनाको ‘हाउस कनेक्शन’ अर्थात घरमा निजी धारा जडान कार्य शुरु भएको छ । मुख्य पाइपलाइनमा पानी वहाब परीक्षण पश्चात् धारा जडान कार्य पनि शुरु गरिएको हो ।
यसअघि शिखरकोट बजार क्षेत्रमा केही धारा जडानको कार्य शुरु भएकोमा २१ भाद्रमा जेसिज मार्ग अन्तर्गतका घरहरुमा धारा जडान गरिएको हो । मुख्य पाइप लाईन विस्तार भएको क्षेत्रमा क्रमशः धारा जडानको कार्य संचालन गरिने समितिकी शकुन्तला गोपालीले जानकारी दिइन् । योजना अन्तर्गत मुख्य पाइपलाईन (३२ एमएम सम्मको) विस्तार निर्माण कम्पनीका तर्फबाट र बाँकी घरसम्मको लाइन (२५ एमएम) बाहेक २० एमएमको पाइप खरिद र खन्नेपुर्ने कार्य ग्राहकले गर्नुपर्ने समितिले जनाएको छ । ‘हाउस कनेक्शन’ का लागि आवश्यक प्लम्बिङ खर्च नगरपालिकाले बेहोर्ने र सामान भने घरधनीले खरिद गर्नुपर्ने जनाइएको छ ।
यसैबीच ‘हाउस कनेक्शन’ का लागि प्लम्बिङ सेवा लिन थाहानगर खानेपानी व्यवस्थापन बोर्डले प्लम्बरहरु सूचीकृत गरी सार्वजनिक गरेको छ । सूचना प्रकाशित गरी प्लम्बरहरुलाई सूचीकृत भएका हुन् । ‘हाउस कनेक्शन’ का लागि सूचीकृत प्लम्बरलाई काम लगाउँदा घरधनीले ज्याला दिनु नपर्ने समितिले जनाएको छ । समितिले पायक पर्ने प्लम्बर मार्फत ‘हाउस कनेक्शन’ गर्नका लागि ग्राहकहरुलाई अनुरोध समेत गरेको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, थाहा नगरपालिका र उपभोक्ताहरुको संयूक्त लगानीमा निर्माणाधिन पालुङ वृहत खानेपानी आयोजनाको करिब ८० प्रतिशत काम सम्पन्न भएको छ । बाँकी काम आउँदो मंसिरसम्म सक्नुपर्ने नेपाल सरकारसंग सम्झौता छ ।
हेर्नुहोस् सूचीकृत प्लम्बरहरुको सुचीः
प्रतिक्रिया दिनुहोस्