विभिन्न राजनीतिक दलका ३१ जना सांसदले यसअघि प्रदेश र स्थानीय तहमा समायोजन भएका निजामती कर्मचारीलाई पुनः समायोजन हुन चाहे एकपटकका लागि अवसर दिनुपर्ने प्रस्ताव गरेका छन् । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा संशोधन हाल्दै उनीहरुले यस्तो प्रस्ताव गरेका हुन् । नेपाली कांग्रेसकी सचेतक शुशिला थिङ्सहितका सांसदहरू मैना कार्की, रामकृष्ण यादव र माया राईले एउटा समूहमा यस्तो संशोधन प्रस्ताव गरेका छन् ।

‘यो ऐन प्रारम्भ हुँदाका बखत संघीय निजामती सेवामा बहाल रहेका कर्मचारी र कर्मचारी समायोजन ऐन २०७५ बमोजिम प्रदेश निजामती सेवा वा स्थानीय सेवाको पदमा समायोजन भएका कर्मचारीहरूले पुनः समायोजन संशोधन हुन चाहेमा इच्छुक कर्मचारीहरूलाई संघ, प्रदेश र स्थानीय तहको पदमा एक पटकको लागि समायोजन संशोधनको अवसर दिइनेछ’ उनीहरूको प्रस्तावमा उल्लेख छ ।

यही व्यवस्थाका लागि नेकपा एमालेका सांसदहरू लाल प्रसाद साँवा लिम्बु, रामशंकर यादव, गंगा प्रसाद यादवले पनि समूहमै संशोधन प्रस्ताव हालेका छन् । प्रमुुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदी र सुदन किराँतीले पनि एक पटक समायोजन संशोधन गर्न चाहने निजामती कर्मचारीलाई एक पटक अवसर दिइनुपर्ने प्रस्ताव राखेका छन् ।

‘कर्मचारी समायोजन सम्बन्धी संघीय कानून बमोजिम प्रदेश निजामती सेवा वा स्थानीय सेवामा समायोजन भएका वा समायोजन संशोधन वा मिलान गर्दा प्रदेश वा स्थानीय तहमा समायोजन भएका साविकका निजामती सेवाका कर्मचारीलाई तोकिए बमोजिम एक पटकका लागि समायोजन संशोधनको व्यवस्था गर्न सकिनेछ’ पूर्व संघीय मामिलामन्त्री मोदीको संशोधन प्रस्तावमा उल्लेख छ ।

संविधानमा भएको व्यवस्था अनुसार २०७५ सालमा समायोजन ऐन ल्याएर सरकारले संघीय, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको थियो ।

संघीय मामिला मन्त्रालयले मन्त्रालयले समायोजनको काम सकेर २०७५ साल चैत १४ गते समायोजन सकिएको घोषणा गरेको थियो । तर, समायोजनमा गएका कर्मचारीहरूले असन्तुष्टि राख्दै आएका छन् । उनीहरूको असन्तुष्टि सम्बोधनका लागि एक पटक संशोधनको अवसर दिइनुपर्ने प्रस्ताव सांसदहरूले राखेका हुन् । २१ फागुन २०८० मा दर्ता भएको यो विधेयक हाल प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा छ ।
प्रस्तावित विधेयकमा १२४ समूहमा सांसदहरुले एक हजार पाँच सय ८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

पालिका प्रेस
थप जानकारी