राक्सिराङ गाउँपालिका–५ जुर्लिङस्थित लोकप्रिय प्राथमिक विद्यालयमा अध्ययनरत ७५ जना विद्यार्थीलाई पोशाकसहित सरसफाईका सामग्री हस्तान्तरण गरिएको छ । संविधानसभा सदस्य राजाराम स्याङ्तानको उपस्थितिमा विद्यार्थीलाई सहयोग हस्तान्तरण गरिएको हो । जर्जिया बसोबास गर्दै आएका दम्पती कर्ण गुरुङ, पेमा गुरुङ र उनीहरुको छोराहरु सलिन र समिन गुरुङको तर्फबाट प्राप्त भएको पोशाक तथा सरसफाईका सामग्री विद्यार्थीलाई हस्तान्तरण गरिएको हो ।
जुर्लिङमा रहेको विद्यालयका बालबालिकाको नाजुक अबस्था देखेपछि गुरुङ परिवारको तर्फबाट सहयोग प्राप्त भएको हो । सहयोग उपलब्ध गराउन समाजसेवी रेखा तामाङ लोप्चनले अगुवाई गरेकी छन् । चेपाङ बालबालिकाको निम्ति टिफिनबक्स, पानीखाने बोत्तल, स्याम्पु, साबुन, ब्रस, मन्जनलगायत विभिन्न सामग्रीहरु दिइएको लोप्चनले जानकारी दिइन । गुरुङ परिवारले चेपाङ समुदायको दुईजना बालबालिकालाई डाक्टर पढाउन सहयोग गर्नेसमेत घोषणा गरेका छन् । स्कुले शिक्षा पुरा भएपछि दुईजनालाई एमबिविएससम्मको अध्यापनमा सहयोग गर्ने प्रतिबद्धता गुरुङले ब्यक्त गरेको लोप्चनले जानकारी दिइन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा संविधानसभा सदस्य स्याङतान, स्थानीय अगुवा कृष्णबहादुर चेपाङ, युवा नेता सगुन स्याङतान, रामशरण प्रजालगायतको उपस्थिति थियो । संविधानसभा सदस्य स्याङतानले विकटका विपन्न चेपाङ बालबालिकाको उज्वल भविष्यको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए । जुर्लिङमा अध्ययन गर्ने अधिकांश बाल बालिका चेपाङ समुदायका छन् ।
प्रतिक्रिया दिनुहोस्