थाहा नगरपालिका क्षेत्रमा रही सेवामूलक व्यवसाय संचालन गर्दै आएका १८ संस्थागत करदाता पालिकाको करको दायरामा आएका छन् । नगरपालिकाले प्रकाशन गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षि समीक्षा प्रतिवेदन मार्फत उक्त तथ्याङ्क सार्वजनिक गरिएको छ ।

यसरी करको दायरामा आउने संस्थागत करदाताहरुमा निजी विद्यालयतर्फ ५ वटा रहेका छन् । बैङ्किङ ३ वटा, लघुवित्त ७ वटा, बीमा कम्पनी ५ वटा र सहकारी संस्था १८ वटा रहेको उद्योग विकास शाखा प्रमुख रोजिना खड्काले जानकारी दिइन् । करको दायरामा आएका कतिपय व्यवसाय नयाँ पनि रहेका छन् भने कतिपय लामो समयदेखि कर नतिर्ने संस्थाहरु समेत रहेको खड्काले जानकारी दिइन् । पटक–पटकको पालिकाको सहजीकरण मार्फत उनीहरु करको दायरामा आएको उनको भनाइ थियो ।

यसैबीच समीक्षा प्रतिवेदनमा पाँच लाखसम्म पूँजी भएका उद्योगहरु नगरपालिकाले दर्ता दर्ता गर्दै आएको जनायएको छ । हालसम्म थाहा नगरपालिकामा १ हजार ४ सय १९ व्यवसायहरु प्रणालीमा आवद्ध भएको समेत समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ । उद्योग वाणिज्य संघ र थाहा नगरपालिकाको सहकार्यमा आर्थिक वर्ष २०८०/०८१ मा उद्योग वाणिज्य संघको भवनमा ४ दिने कर शिविर सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ । शिविरका माध्यमबाट वडा नम्बर १, २, ३, ४, ६, ११ र १२ का संस्थागत व्यवसायलाई करको दायरामा ल्याइएको बताइएको छ ।

पालिकाको आन्तरिक स्रोत बढाउनका लागि आर्थिक ऐनले तोकेको कर संकलनलाई कडाइ गरिने प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीको प्रतिक्रिया छ । करलाई सेवाप्रवाहसंग जोडेर भएपनि दायरामा नआएका करदातालाई दायरामा ल्याइने प्रशासकीय अधिकृत गिरीको भनाइ छ । यसका लागि कर्मचारी, जनप्रतिनिधि र सम्पूर्ण सरोकारवालाहरुको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी