हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा प्रादेशिक कृषि थोक बजार निर्माण भए पनि कार्यविधि नबन्दा सञ्चालन हुन सकेको छैन । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय सञ्चालन मोडालिटी टुुंग्याएर कार्यविधि बनाउने तयारीमा छ । २४ भाद्रमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बजारको स्थलगत निरीक्षण गर्दै एक महिनाभित्र बजार सञ्चालन गरिसक्न निर्देशन दिए । ‘समयै सञ्चालन हुनुपर्छ । एक महिनाभित्र चलेको खबर पाउनुपर्छ’, उनले भने ।

थोक बजारको भौतिक संरचना तयार भएसँगै कार्यविधि निर्माणमा जुटेको मन्त्रालयका सचिव विनोद भट्टराईले बताए । भवन हस्तान्तरण हुनु अघि कार्यविधि बनाइसक्ने योजना हेरिरहेको मन्त्रालय मातहतको कृषि विकास निर्देशनालयका निर्देशक सुधिर श्रेष्ठले बताए । हेटौंडा उपमहानगरका प्रवक्ता सविन न्यौपानेले कार्यविधि बनेपछि यो थोक बजार उपमहानगरपालिकाले सञ्चालन गर्ने बताए । प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाबीच यसअघि नै थोक बजार निर्माणको सम्झौता भएर सञ्चालनको जिम्मा कार्यालयले लिने सहमति भएको थियो ।

प्रदेश सरकारले ७०÷३० को लगानी मोडलअनुसार दुई बिघा ४ धुर क्षेत्रफलमा तीन वर्ष लगाएर थोक बजार निर्माण गर्ने लक्ष्यसहित १४ भदौ २०७७ मा हेटौंडा उपमहानगरपालिकासँग सम्झौता गरेको हो । सम्झौताको एक वर्षपछि थोक बजार निर्माण थालिएको थियो । थोकबजार निर्माणका लागि अनक÷माउण्टेन जेभी काठमाडौंले ३० करोड ८७ लाख ६२ हजार ७ सय ८७ रुपैयाँमा ठेक्का पाएको थियो ।

९ जेठ २०७८ मा काम सुरु गरेको कम्पनीले जेठ २०८१ भित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा थियो । ७ महिना म्याद थप भएकाले ८ मंसिरसम्ममा काम सम्पन्न गरिसक्नुपर्नेछ । कृषि विकास निर्देशनालय बागमती प्रदेशले कृषि थोक बजारको भौतिक प्रगति ९६ प्रतिशत भएको जानकारी दिएको छ । सडक कालोपत्रे र अन्य सामान्य काम मात्रै गर्न बाँकी रहेको निर्देशनालयका सबइन्जिनियर मोदनाथ तिम्सिनाले जानकारी दिए । प्राविधिक मूल्यांकनमा सडक कालोपत्रे नभएकाले निर्देशनालयले सडक निर्माणका लागि ठेक्का खुलाउने तयारी गरेको छ ।

थोक बजार निर्माणको गत असारसम्म वित्तीय प्रगति ८६ प्रतिशत रहेको निर्देशनालयले जनाएको छ । निर्माण कम्पनीलाई २६ करोड ५५ लाख ३५ हजार ९ सय ९६ रुपैयाँ गत असारमै भुक्तानी भएर थप २ करोड भन्दा बढीको भुक्तानीको चरणमा रहेको निर्देशनालयले जानकारी दिएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ मा बागमती सरकारले थोक बजारका लागि ४ करोड विनियोजन गरेको छ । थोक बजार निर्माणका लागि हेटौंडा उपमहानगरले तत्कालीन समयमा थानाभ¥याङस्थित राप्ति पुल नजिकैको जग्गामा रहेका ५८ वटा घर÷टहरा हटाएको थियो । जग्गा खाली गरेपछि १८ असार २०७८ मा बागमतीका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल र उपमहानगरका मेयर हरिबहादुर महतले शिलान्यास गरेका थिए ।

पालिका प्रेस
थप जानकारी