नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टचार विरुद्ध मेची महाकाली सुशासन महायात्रा चलाउने बताएका छन् । महायात्रामा जनतालाई बुझाएर जनमत आफुतर्फ ल्याउने विश्वास व्यक्त गर्दै प्रचण्डले भने–‘६४ को जनमत ८४ मा फर्काउँछौं ।’ अहिलेको सरकारप्रति इङ्कित गर्दै प्रचण्डले विचौलिया र भ्रष्टचारको ‘सेटिङ’ भत्काउन खोज्दा एमाले माओवादीको गठबन्धन टुटेको उनको भनाइ थियो । सुशासन स्थापित गर्न भ्रष्टचार अन्त्यका लागि प्रमुख प्रतिपक्ष दलको हैसियतले सरकार बाहिरै रहेर पनि महायात्रा संचालन गर्ने प्रचण्डले उल्लेख गरे । २४ कार्तिकमा नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल थाहानगर कमिटी मकवानपुरको दोस्रो अधिवेशन उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘सिंगो माओवादी पाटी र प्रचण्डलाई सक्काउन पुजा गरेर धुप बालेर बस्नेहरु पनि छन् तर यो हाम्रो अभियान रोक्किदैन’ प्रचण्डले भने–‘माओवादी जिउँदैछ, प्रचण्ड जिउँदैछ, मेची महाकाली अभियान चालाउँछु–चलाउँछु ।’ अभियानमा प्रत्येक्ष कार्यकारी प्रमुखको एजेण्डा समेत लिएर अघि बढ्ने र जनतालाई बुझाउने पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको भनाइ थियो ।
यस अघि एमाले र काँग्रेससंग गठनबन्धन गर्दा माओवादीको पहिचान गुमेको स्मरण गर्दै उनले भने–‘कुजातसंग संसर्ग गर्दा उस्तै–उस्तै हुन पुग्यौं, सबैले यहि भन्न थाले अलिअलि बिग्रेउँ अब जनतासंग माफ मागेर अघि बढ्छौं ।’ ३२ सिट हुँदा त एमाले काँग्रेस डराएका छन् ६४ को जनमत फर्किदा माओवादी शक्तिमा पुग्ने प्रचण्डको दाबी थियो ।
अहिलेको सरकारप्रति जनताको असन्तुष्टि बढ्दै गएको बताउँदै जनताले खोजेको विकल्पमा माओवादी रोजाइमा परेको उनको भनाइ थियो । पछाडि पारिएका समुदायका लागि माओवादीको सशिक्तकरणबाटै मुलधारमा आउन सकेको बताउँदै त्यो कुरा जनताले अहिले बुझन थालेको बताए । गत असोजको विपदमा समेत सरकारले सर्वदलिय बैठक समेत बसाल्न नसकेको अवस्थामा आफूले त्यो काम गर्न थाल्दा बल्ल सरकार अग्रसर भएको उनले बताए ।
माओवादीको नेतृत्वमा सरकार हुँदा लोडसेडिङ मुक्त गर्नका लागि नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई प्रबन्ध निर्देशकमा आफैले नियुक्ति गरेको र लक्ष अनुसार लोडसेडिङ मुक्त भएको बताउँदै उनै कुलमानलाई निकाल्न अहिलेको सरकार लागि परेको उनको आरोप थियो । षड्यन्त्र गर्दै जनतालाई अध्यारोमा नराख्न प्रचण्डले खबरदारी गरे ।
मध्ये पहाडी लोकमार्ग आफ्नै प्रस्तावको मार्ग भएको बताउँदै यस मार्गकै कारण पहाडी क्षेमा पनि शहरीकरण हुँदै गएको उनले बताए । बागमती प्रदेशमा तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाउन, नेपाल सम्वतलाई राष्ट्रिय संवत घोषणा गर्न आफू र आफ्नो पाटी माओवादीकै योगदान रहेको उनको भनाइ थियो । अहिलेको सरकारले काम गरेँ भन्ने नाउँमा जनतालाई आँखामा छारो हालेको बताउँदै प्रचण्डले भने–‘सय दिनको काम भनेर सबै मेरै नेतृत्वको सरकारले गरेको कामको विवरण पो ल्याएछन् ।’
सभामा सम्बोधन गर्दै प्रचण्डले रुपचन्द्र विष्टको योगदानको समेत चर्चा गरे । उनी थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको शालिक उद्घाटन गर्न १६ वर्ष अघि पहिलोृ पटक औपचारिक कार्यक्रममा थाहा नगरपालिका आएका थिए ।
प्रतिक्रिया दिनुहोस्