आयोजक सल्ले राम्चे युवा क्लब ‘ए’ र थाहा–२ भलिबल टिम थाहा–कैलाश पालिकास्तरीय अन्तरवडा भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । आयोजक ‘ए’ले सशक्त रातो थाहा–७ लाई र थाहा–२ ले थाहा–५ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।

आयोजक ‘ए’ ले सशक्त रातो थाहा–७ लाई २५–१५, १७–२५, २५–१९, १५–२५ र १५–१० को अन्तरले पराजित गरेको हो भने थाहा–२ ले थाहा–५ लाई २५–११, २५–१७ र २५–११ को अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको प्रतियोगिता संयोजक सुजिन्द्र गोलेले जानकारी दिए ।

तेस्रो स्थानका लागि २५ कार्तिक विहान ८ बजे थाहा–५ र सशक्त रातो थाहा–७ बीच खेल हुने संयोजक गोलेले जानकारी दिए । फाइनल खेल भने दिउँसो १२ बजेत हुने कार्यक्रम छ ।

थाहा नगरपालिकाको डाँडाबास स्थित खेल मैदानमा २२ कार्तिकबाट शुरु भएको प्रतियोगितामा थाहा नगरपालिका र कैलाश गाउँपालिकाका गरी २० टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताका विजयी टिमले ५१ हजार १ सय ५१ रुपियाँ, द्वितीय हुनेले ३१ हजार १ सय ३१ रुपियाँ र तृतीय हुनेले १३ हजार १ सय १३ रुपियाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने संयोजक गोलेले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्टहरुलाई नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।

सल्ले राम्चे युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको सहआयोजक हिमशिखर बचत तथा ऋण सहकारी संस्था थाहा–७ डाँडाबास रहेको छ । थाहा नगरपालिका वडा नम्बर ७ मुख्य सहयोगी रहेको प्रतियोगिताको अफिसियल मिडिया पार्टनहरु पालिका प्रेस डटकम, थाहा टाइम्स र थाहापाटी रहेका छन् ।

पालिका प्रेस
थप जानकारी