आधा खर्ब लागत अनुमान भएको मकवानपुर थाहानगरपालिका चितलाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणका लागि चिनियाँ सहयोग मागिने भएको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा मकवानपुरको चितलाङमा निर्माणाधीन विश्वविद्यालय निर्माण सहयोगका लागि छलफल हुने सम्भावना छ । चीन सरकारको निमन्त्रणामा प्रधानमन्त्री ओली डिसेम्बर २ मा चीन भ्रमणमा जाँदैछन् । भ्रमण निश्चित भएसँगै चिनियाँ राष्ट्रपतिलगायत प्रतिनिधि मण्डलसँगको भेटमा नेपालको तर्फबाट राखिने एजेन्डाको तयारीमा सरकार लागिपरेको छ । जसमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणको विषय पनि छलफलको एजेन्डा हुने निश्चित भएको स्रोतले बताएको छ ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भइसकेको छ । यो विश्वविद्यालय आयोजनाको निर्माण लागत ३७६ मिलियन डलर अर्थात् ४९ अर्ब २५ करोड ६० लाख रुपैयाँ हुने अनुमान गरिएको छ । यो विश्वविद्यालय एक अनुसन्धानमुखी विश्वविद्यालयका रुपमा स्थापना गरिएको हो । नयाँ ज्ञान र प्रविधि सिर्जना र अनुसन्धानको माध्यमबाट नयाँ ज्ञान र प्रविधि विकास गर्न सक्षम जनशक्ति उत्पादन गरी अर्थतन्त्र विकासमा प्रत्यक्ष सहयोग पु¥याउने उद्देश्यसहित विश्वविद्यालय विकास गर्ने लक्ष्य रहेको छ । सरकारले सन् २०१९ अप्रिल २३ मा चितलाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि तयारी गर्न विभिन्न गतिविधिहरु सञ्चालन गर्ने उद्देश्यका साथ मदन भण्डारी विश्वविद्यालय पूर्वाधार समिति गठन गरेको थियो । प्रस्तावित आयोजनालाई ४१.२९ हेक्टर वनको जग्गा आवश्यक पर्नेछ ।

विश्वविद्यालय निर्माणका लागि वन फडानी नहुने जनाइएको छ । विश्वविद्यालयको भवन निर्माण क्षेत्र २ लाख २३ हजार वर्गमिटर रहेको छ । यो विश्वविद्यालय थाहा नगरपालिकाको चित्लाङमा रहने छ । भवनमा २ सयभन्दा बढी कोठा हुने छन् । काठमाडौंबाट २५ किलोमिटर चन्द्रागिरि हुँदै यहाँ पुग्न सकिन्छ । विश्वविद्यालयको भवन आरसीसी बन्ने छ ।

वार्षिक ४ हजार विद्यार्थीले यहाँ अध्ययन गर्न सक्नेछन् । आयोजनाका मुख्य विशेषतामा शैक्षिक भवन, कम्युनल भवन, छात्रावास, ६ सय कर्मचारीका लागि आवास, ४० कोठा भएको गेष्टहाउस, २५ शैयाको अस्पताल, विद्यालय, सडक, खानेपानी आपूर्ति र ढलनिकास, बिजुलीआपूर्तिका लागि सौर्य प्यानल, विद्युत र सञ्चार सञ्जाल रहेको छ । आयोजनाका लागि कुल ५०.५२ हेक्टर जग्गा आवश्यक पर्नेछ । विश्वविद्यालयले आन्तरिक खपतका लागि ५ सय किलोवाटको सौर्यऊर्जा संचालनमा आइसकेको छ । ६ सय किलोवाटको पम्प स्टोरेज प्लान्टको स्थापना गर्ने कार्यक्रम पनि समावेश भएको छ । चितलाङस्थित स्वच्छन्दभैरव माविको भोगाधिकार रहेको जमिनमा विश्वविद्यालय स्थापना गरिएको हो ।

पालिका प्रेस
थप जानकारी