दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले शिशाजन्य वस्तु व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ । नगरपालिका क्षेत्रको पर्यावरणलाई स्वच्छ र सफा राख्न, पेय पदार्थ आयात गर्ने व्यक्ति, पसल, कम्पनी र डिलरलाई ३५ दिनभित्र व्यवस्थापन गर्न अनुरोध गरेको हो ।
मंसिर १३ गतेको नगरकार्यपालिका बैठकले नगरको स्वीकृत नीति तथा कार्यक्रम, फोहरमैला व्यवस्थापन ऐन, २०६८ र फोहरमैला व्यवस्थापन नियमावली, २०७० लाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेकाले त्यसअनुसार अनुरोध गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए ।
‘फोहरमैला व्यवस्थापन ऐन, २०६८ र फोहरमैला व्यवस्थापन नियमावली २०७० मा फोहरमैला उत्पादन गर्ने व्यक्ति, संस्था वा निकायले नै फोहरमैला व्यवस्थापन गर्नुपर्ने उल्लेख छ,’ नगर प्रमुख भट्टराईले भने, ‘नगरपालिकाको स्वीकृत नीति तथा कार्यक्रममा पनि उल्लेख भएकाले नगरकार्यपालिकाको बैठकले त्यसलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको हो ।’
यसबारे पटक–पटक छलफल र पत्राचारसमेत गरिसकेकाले मंसिर १४ गतेदेखि लागू हुने गरी ३५ दिनभित्र व्यवस्थापन नगरिए शिशाजन्य बस्तुलाई नगरपालिकामा पूर्ण रूपले प्रतिबन्ध लगाइने समेत नगर प्रमुख भट्टराईले बताए । ‘प्रचलित ऐन, नियमावली, नगरको नीति कार्यक्रमलाई फलो गर्दै सम्बन्धित पक्षसँग पटक–पटक छलफल र पत्राचार गरिएको छ,’ उनले भने, ‘३५ दिनभित्र शिशाजन्य वस्तु व्यवस्थापन नगरिए नगरक्षेत्रभित्र शिशाजन्य वस्तुलाई पूर्णरूपले प्रतिबन्ध लगाइनेछ ।’
प्रतिक्रिया दिनुहोस्