
पञ्चकन्या गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा घ्याङस्वारा सहिद स्मारक पर्यटकिय पार्कमा विशेष कार्यक्रमको आयोजना गरी ओखरको बिरुवा श्रमदानमार्फत रोपिएको छ।
कार्यक्रमको अध्यक्षता पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङले गरेका थिए । प्रमुख अतिथि उपाध्यक्ष विमला केसी तथा प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेल र वन अधिकृत धुर्ब कुमार श्रेष्ठको विशेष उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, रोजगार सेवा केन्द्रमा सूचीकृत श्रमिक र अन्य संघसंस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।
उद्घाटन समारोहपछि श्रमदानमार्फत २ सय भन्दा बढी सहभागीहरूले ओखरको बिरुवा रोपणमा सक्रिय सहभागिता जनाएका थिए । ओखरका बिरुवाहरू जिल्ला वन कार्यालयले उपलब्ध गराएको हो । वन कार्यालयको यस सहयोगले कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ।
पञ्चकन्या गाउँपालिकाले जिल्ला वन कार्यालयलाई सहयोगका लागि हार्दिक आभार व्यक्त गरेको छ । साथै, कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रतिनिधि, कर्मचारी, र श्रमिकहरूप्रति पनि धन्यवाद ज्ञापन गरिएको छ।
यस कार्यक्रमले पर्यावरण संरक्षण र सामुदायिक सहकार्यलाई बलियो बनाउँदै थप हरियाली ल्याउने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस्