
खानेपानी तथा सरसफाईका तोकिएका सूचकको पालना गर्दै मकवानपुरको राक्सिराङ गाउँपालिका ९ स्थित कोखारी टोललाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोलको घोषणा गरिएको छ । ५ माघमा एक कार्यक्रमकाबीच ४२ घरधुरी रहेको टोललाई पूर्ण सरसफाई उन्मुख घोषणा गरिएको हो ।
नेपाल ग्रामीण पुनर्निमाण संस्था (आरआरएन) सँगको सहकार्य र राक्सिराङ गाउँपालिकाले सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरेको हो । मकवानपुर जिल्लाको पहाडी क्षेत्रमा खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीको सुद्धीकरण र व्यवहार परिवर्तन परियोजनाअन्तर्गत आरआरएनले मकवानपुरको राक्सिराङ र कैलाशमा अभियान चलाएको थियो । सो क्रममा गाउँपालिका कार्यालयसँग सहकार्यमा टोलहरुमा खानेपानी र स्वच्छतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।
घोषणाका लागि स्वच्छ र सफा घरका सूचकहरुको निर्धारण गरी सो सूचक पूरा गर्नका लागि कामहरु गरिएको थियो । घरमा प्रयोगकर्तामैत्री तथा सुरक्षित चर्पीको प्रयोग, प्रयाप्त पानीसहित चर्पीमा सरसफाई सामाग्री भएको, खुला स्थानमा दिशा नभएको, बच्चाको दिसाको सही सदुपयोग भएको हुनुपर्ने सूचकमा उल्लेख छ । साथै बच्चालाई फोहोरबाट टाढा राखी सरसफाई गरेको अवस्था, आधारभूत स्तरको खानेपानीमा सबैको पहुँच भएको, पानी सुद्धीकरण गरेर पिउने गरेको, घरको भान्छा सफा तथा सिलौटा छोपेर राखेको, भाडा सुकाउने र राख्ने ¥याक चाङको व्यवस्था भएको, कुहिने र नकुहिने फोहोर छुट्याउने र उचित व्यवस्थापन गर्ने गरेको लगायतका डेढ दर्जनभन्दा बढी सूचक निर्धारण गरी पूर्ण पालना भएपछि पूर्ण सरसफाई उन्मुख र स्वच्छ सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।
राक्सिराङ ९ की वडा सदस्य शान्ता अर्याललको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, आरआएनका कार्यक्रम व्यवस्थापक निराजन पोखरेल, कार्यक्रम संयोजक लिल कार्कीलगायत जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो । आरआरएनको सहकार्यमा यसअघि कैलाश गाउँपालिकाको पनि ४ वटा टोललाई पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिसकिएको छ ।
प्रतिक्रिया दिनुहोस्