
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सूचना नदिनु निरङ्कुशता भएको बताएका छन् । प्रदेश सूचना पुनरावेदन समिति, बागमती प्रदेशले ८ माघमा हेटौँडामा आयोजना गरेको सूचनाको हक प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका लामिछानेले सूचनाको हकसम्बन्धी ऐनले नदिनु भनेको बाहेकका सूचना मागकर्तालाई दिनुपर्ने बताए ।
सूचनाको हक सुशासनको सूचक भएको भन्दै प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका लामिछानेले सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनले पारदर्शितामा सहयोग पुग्ने बताए । उनले सूचनाको नाममा गलत सुचना दिँदा समाजमा नकारात्मक भावनाको विकास हुने भन्दै सूचनाको हक सम्बन्धी नियमावली बनाउने तयारी भइरहेको जानकारी दिए । कार्यक्रममा मकवानपुरका जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानले जनप्रतिनिधिका लागि जति सूचना दियो त्यति नै राम्रो हुने बताए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जी, समितिका सदस्य कृष्ण सारुलगायतले सूचनाको हकको अधिकारको अधिकतम प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश सूचना पुनरावेदन समिति, बागमती प्रदेश समितिका अध्यक्ष हरि अधिकारीले सूचनाको हकसम्बन्धी प्रादेशीक संरचना, उद्देश्यलगायतका विषयमा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव मनुका घिमिरेले सूचनाको हकसम्बन्धी ऐनमा भएका व्यवस्था र सूचना वर्गीकरणलगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेश अन्तर्गतका मन्त्रालयका सूचना अधिकारीहरु, जिल्ला स्थित सबै पालिकाहरु तथा संघ तथा प्रदेश अन्तर्गतका कार्यालयका सुचना अधिकारीहरु, पत्रकारहरु, गैर सरकारी संस्थाका प्रसितनीधिहरुलगायतकाको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्