हेटौंडा उपमहानगरपालिका ३ का नवराज सिग्देल अहिले श्रीमतीसँग सम्बन्धविच्छेदको कानूनी प्रक्रियामा छन् । विगत ४ वर्षदेखि श्रीमती अलग बसेकाले सम्बन्धविच्छेदका लागि उनले जिल्ला अदालत मकवानपुरमा माघ १८ गते उजुरी दर्ता गरेका हुन् । हेटौंडा उपमहानगरपालिका १९ का २९ वर्षीय धनबहादुर केसीले पनि गत माघ २८ गते सम्बन्धविच्छेदका लागि उजुरी दिएका छन् । पत्नी घर भन्दाबढी माइती बस्ने गरेको, घर व्यवहारप्रति जिम्मेवार नभएको र नगद सम्पत्ति हिनामिना गरेकाले अलग हुन चाहेको केसीको जिकिर छ  ।

छोरीमात्र पाएको भनेर श्रीमान्ले मादक पदार्थ सेवन गरेर कुटपिट गर्ने गरेकाले अंशसहित सम्बन्धविच्छेद गरी पाउँ भनेर भीमफेदी गाउँपालिका-१ की नम्रता लामा फागुन ४ गते जिल्ला अदालतको ढोका ढकढक्याउन पुगेकी छन्। २३ वर्षीया लामाको ३ छोरी छन् । मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका ६ की १८ वर्षीया सुनितामाया चेपाङले पनि पतिसँग सम्बन्धविच्छेद गर्नका लागि फागुन २८ गते अदालतमा निवेदन दर्ता गरेकी छन् ।

तीन वटा बच्चाकी आमा सुनितामायाको २१ वर्षीय पति सोमवहादुर चेपाङले गाउँकै अर्को युवतीसँग विहे गरेपछि उनले सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएकी हुन् । १४ वर्षको उमेरमा सोमवहादुरसँग उनको विवाह भएको थियो । यी त केही उदाहरण मात्रै हुन् । जिल्ला अदालतमा दैनिक सरदर तीन वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने गरेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा १५ सय ९९ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ४ सय ३७ थान मुद्दा सम्बन्धविच्छेदका छन् । सम्बन्धविच्छेदका लागि महिलारपुरुष दुवैले मुद्दा दर्ता गराएका छन् ।

सम्बन्धविच्छेदका दर्ता भएकामध्ये पुस मसान्तसम्म ३ सय ७३ वटा मुद्दा फर्स्यौट भइसकेका छन् । गत आवको ६ महिना अर्थात् यही अवधिमा जिल्ला अदालतमा ४ सय ३० थान मुद्दा दर्ता भएका थियो । अदालतमा दर्ता भएको मुद्दा तथ्याङ्क अनुसार सरदरमा दैनिक ३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने गरेको हो । जिल्ला अदालतमा आव ०७९/०८० मा ३ हजार ३ सय ५७ मुद्दा दर्ता भएका थिए । तीमध्ये २८ दशमलव ५० प्रतिशत अर्थात ९ सय ७५ थान सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको अदालतका सेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए।

सम्बन्धविच्छेदका लागि आएका अधिकांश महिलाहरु पति एवम् घर परिवारको हिंसा सहन नसकेर अदालतको ढोका ढकढक्याउन आउने गरेका छन् । सेस्तेदार पौडेलका अनुसार बालविवाह पनि क्रमशः सम्बन्धविच्छेदमा परिणत हुन थालेको छ । विवाह १५÷१६ वर्षको उमेरमा हुने र २१/२२ वर्ष पुगेपछि काखमा नानी च्यापेर सम्बन्धविच्छेदका लागि आउनेहरुको संख्या बढ्दो रहेको छ । मुलुकमा नयाँ संहिता कार्यान्वयनमा आएपछि सम्बन्धविच्छेदका लागि पुरुषलाई पनि सहज बनाएको छ ।

जसले गर्दा सम्बन्धविच्छेदको मुद्दा अदालतमा ह्वात्तै बढेको अधिवक्ता मदन दाहालले बताए । अहिले अदालतमा दर्ता भएका मुद्दामध्ये झण्डै ३० प्रतिशत मुद्दा सम्बन्धविच्छेदका छन्, उनले भने, ुमहिलासरह पुरुषहरु पनि सम्बन्धविच्छेदका लागि अदालत जान सक्ने कानुनी व्यवस्था गरिएका कारण पनि मुद्दा बढेका छन् ।
–कान्तिपुरबाट ।

पालिका प्रेस
थप जानकारी