थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि चालु आर्थिक वर्षको तुलनमा ८ करोड रुपैयाँ कम बजेट प्रस्तुत गरेको छ । संघीय सरकार र प्रदेश सरकारले विभिन्न शीर्षकमा दिने अनुदानमा कमी आएकाले आव २०८१/८२ को बजेटको आकार खुम्चिएको बताइएको छ ।

थाहा नगरपालिकामा शुक्रबार आयोजित १६ औं नगरसभामा उपमेयर भरत गोपालीले आव ०८१/८२ का लागि ९१ करोड ९१ लाख ४३ हजार ५ सय रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । जसमध्ये चालु खर्चमा ६२ प्रतिशत र पुँजीगत ३८ प्रतिशत विनियोजन गरिएको छ । जसमा संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान १२ करोड २८ लाख, समपूरक अनुदान १ करोड, विशेष अनुदान १ करोड, सशर्त अनुदान ३० करोड ७१ लाख ६ हजार ५ सय, राजस्व बाडफाँड १० करोड ६५ लाख ३० हजार १ सय ८२, रोयल्टी १ करोड ८९ लाख ६९ हजार ८ सय गरी जम्मा ५७ करोड ५४ लाख ६ हजार ५ सय रुपैयाँ रहेको छ ।

त्यसैगरी प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान १ करोड २३ लाख ९० हजार, समपूरक अनुदान ३ करोड, विशेष अनुदान ६५ लाख, सशर्त अनुदान ७ करोड १८ लाख ६७ हजार र राजस्व बाँडफाँड ९ करोड ३५ लाख ५३ हनार गरी जम्मा २१ करोड ४३ लाख १० हजार रहेको छ । नगर पालिकाको आन्तरिक आयतर्फ राजस्व (कर तथा गैरकर) ५ करोड र मालपोत २ करोड रुपैयाँ गरी जम्मा ७ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । चालु आव अर्थात् ०८०/८१ का लागि ९९ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । थाहा नगरपालिकाको बजेटले कृषि, पूर्वाधार शिक्षा र पर्यटनको विकासलाई प्राथमिकतामा राखिएको छ । कृषिक्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी स्वरोजगार र रोजगारीको वातावरण सिर्जना गर्ने जनाइएको छ ।

बजेटले पर्यटकीय क्षेत्रको पूर्वाधारलाई पनि प्राथमिकता दिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले थाहा नगरपालिकाले राष्ट्रसेवक कर्मचारीलाई पर्यटन काजका लागि रकम विनियोजित गरेको छ । वागमती प्रदेश सरकारले विगत वर्षदेखि नै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न राष्ट्रसेवक कर्मचारीलाई १० दिनको काज दिने व्यवस्था गरेको छ । तरकारी खेतीलाई प्रवद्र्धन गर्न बजेट विनियोजन गरिएको छ भने आलु खेतीका लागि उन्नत बीउको निम्ति बजेटमा अनुदानको व्यवस्था गरेको छ ।

पालिका प्रेस
थप जानकारी