• सरकारी बजेटका आधारभूत तत्वहरु के-के हुन् ? लेख्नुहोस् ।

सरकारी आय र व्ययको अनुमानित समष्टि विवरण नै बजेट हो । यो कार्यपालिकाअन्तर्गतको अर्थ मन्त्रालयले बनाउँछ, व्यवस्थापिकाले स्वीकृत गर्छ र पुनः कार्यपालिकाले कार्यान्वयन गर्छ । यो मुलुकको संविधान, आवधिक योजना तथा सरकारको वार्षिक नीति तथा कार्यक्रमअनुसार बनाइने भएकाले यसको संरचनासँग विभिन्न पक्षहरु संलग्न हुन्छन् ।

सरकारी बजेटका आधारभूत तत्वहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

  • आम्दानी तर्फः
  • राजस्वः यसमा कर राजस्व तथा गैर कर राजस्व पर्दछन् ।
  • अनुदानः यस अन्तर्गत ससर्त अनुदान र निःसर्त अनुदान पर्दछन् ।
  • ऋणः यस अन्तर्गत आन्तरिक ऋण र बाह्य ऋण पर्दछन् ।
  • खर्च तर्फः
  • चालु खर्चः राज्य सञ्चालनका लागि आवश्यक पर्ने नियमित प्रशासनिक खर्चहरु, सुरक्षा खर्च, ऋण र सोको ब्याज भुक्तानी गर्ने लगायत पुनः उत्पादन नगर्ने व्ययहरु यस अन्तर्गत पर्दछन् ।
  • पुँजीगत खर्चः विकास निर्माण, आयोजना, परियोजनाको खर्च, सवारी साधन, भवन, औजार, उपकरण साथै उत्पादनका लागि सहयोगी साधनहरुको खर्च यस अन्तर्गत पर्दछ ।
  • वित्तीय व्यवस्था खर्चः आन्तरिक ऋण र बाह्य ऋण भुक्तानी गर्न हुने खर्च यस अन्तर्गत पर्दछ ।

त्यसैगरी कार्यपालिका, अर्थ मन्त्रालय, व्यवस्थापिका, संविधान, ऐन, नियम, वार्षिक नीति तथा कार्यक्रम, आवधिक योजना लगायतका पक्षहरु सरकारी बजेट निर्माणमा आवश्यक पर्ने भएको हुनाले सरकारी बजेटको आधारभूत तत्वको रुपमा लिन सकिन्छ ।

 

  • कार्यालय सञ्चालन तथा व्यवस्थापनमा दर्ता चलानीको महत्त्व उल्लेख गर्नुहोस् ।

दर्ताः सामान्यतयाः दर्ता भन्नाले सुरु प्रविष्टि भन्ने बुझिन्छ । कुनैपनि कार्यालयमा आएको चिठीपत्र एवम् कागजातहरुको प्रारम्भिक अभिलेख राख्ने कार्यलाई दर्ता भनिन्छ ।

चलानीः चलानी भन्नाले अन्तिम प्रविष्टि भन्ने बुझिन्छ । कुनै पनि कार्यालयको चिठीपत्र एवम् कागजातहरुको अन्तिम अभिलेख राख्ने प्रक्रियालाई चलानी भनिन्छ ।

कार्यालय सञ्चालन तथा व्यवस्थापनमा दर्ता चलानीले बहुआयामिक महत्व राख्छन्, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः

  • कार्यालयमा चिठीपत्र तथा अन्य कागजातको प्रारम्भिक तथा अन्तिम अभिलेख रहने ।
  • कुन पत्र कहिले कहाँबाट कुन विषयमा प्राप्त भयो र त्यसको जवाफ कहाँ कहिले पठाइयो सोबारे जानकारी प्राप्त गर्न सकिने,
  • कार्यालयमा प्राप्त पत्रको कारवाही के कस्तो भएको छ सोबारे जानकारी प्राप्त गर्न सकिने,
  • कार्यालयमा प्राप्त पत्रको सुरक्षा गर्न सकिने,
  • कार्यालयमा प्राप्त पत्र हराउने सम्भावना कम हुने, यदि पत्र हराएमा दर्ता र चलानी किताबबाट जानकारी लिन सकिने ।
  • पत्र हराएमा पुनः अर्को पत्र बनाउन सरल हुने ।

निष्कर्षः यसरी कार्यालयमा दर्ता चलानीको महत्व रहेको हुन्छ र राम्रोसँग सञ्चालनमा आएको कुनै पनि कार्यालयमा दर्ता चलानीलाई निकै महत्वका साथ हेरिनुका साथै दर्ता चलानी किताबलाई व्यवस्थित ढङ्गबाट राखिएको हुन्छ । तसर्थ दर्ता चलानी किताबलाई महत्वका साथ कार्यालयले राख्नु आवश्यक हुन्छ ।

  • जनशक्ती विकास भन्नाले के बुझ्नुहुन्छ? सङ्गठनमा जनशक्ती विकासका लागि गरिनुपर्ने प्रबन्धहरु के के हुन सक्छन्? स्पष्ट पार्नुहोस् ।

विकासका लागि दक्ष जनशक्तिको खाँचो हरेक पर्दछ । प्रत्येक क्षेत्रमा आवश्यक पर्ने जनशक्ती एकै तहको भएर पुग्दैन । स्वास्थ्य सेवाको लागि डाक्टर, नर्स आदिको आवश्यकता हुन्छ भने कृषि विकासको लागि जे.टि., जे.टि.ए., तालिम प्राप्त कृषक आदि जस्ता जनशक्तीको आवश्यकता हुन्छ । तसर्थ कुनै काम राम्रोसँग गर्न सक्ने व्यक्ति वा व्यक्तिको समूहलाई जनशक्ति भनिन्छ । आफ्नो काउय वा पेसामा तालिम प्राप्त र राम्रो सीप हासिल गरेका निपूर्ण जनशक्तिलाई दक्ष जनशक्ति भनिन्छ । देशमा काम गर्न सक्ने उमेरका व्यक्तिहरुलाई शिक्षा, तालिम र अवसर एवम् स्रोत साधन उपलब्ध गराएर दक्ष जनशक्तिको रुपमा प्रयोग गर्नु नै जनशक्ती विकास हो ।

सङ्गठनमा जनशक्ती विकासका लागि गरिनुपर्ने प्रबन्धहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः

  • सर्वप्रथम सङ्गठनको लागि कस्तो प्रकारको जनशक्तीको आवश्यक परेको हो र कति संख्यामा आवश्यक परेको हो सोको अवस्था अध्ययन गरी त्यसका लक्ष्य र उद्देश्य निर्धारण गर्नुपर्दछ ।
  • जनशक्तिलाई समय सापेक्ष तालिम तथा अवसरहरुको व्यवस्था गरिनु पर्दछ ।
  • जनशक्तिलाई सङ्गठनमा निश्चित समयपछि आफूले रोजेको शाखामा वा कार्यमा जान पाउने वातावरण मिलाउनु पर्दछ ।
  • सङ्गठनमा कार्यरत कर्मचारीका लागि सिप र दक्षता विकास गर्ने खालका पुनर्ताजगी तथा क्षमता विकास तालिमको व्यवस्था गर्नुपर्दछ ।
  • सङ्गठनमा नयाँ प्रवेश गरेको कर्मचारीको लागि सेवा प्रवेश तालिमको व्यवस्था गर्नुपर्छ साथै सेवाकालिन तालिमको पनि व्यवस्था गर्नुपर्दछ ।
  • कर्मचारीको हौसला बढाउन उत्प्रेरक कुराहरु तथा उत्प्रेरणा बढाउने कुराहरु पनि प्रदान गर्नुपर्दछ ।
  • सङ्गठनको सम्पूर्ण क्षमतालाई उपयोग गरी उच्च कार्य सम्पादन गर्न जनशक्ती विकास योजनामा आन्तरिक तथा बाह्य तालिमका प्रशस्त कार्यक्रमहरुको व्यवस्था गर्नुपर्छ ।

निष्कर्षः सङ्गठन भनेको भव्य भवन मात्र नभइ दक्ष जनशक्तिको समूह पनि हो र दक्ष जनशक्तिको उचित उपयोग गर्न सक्नु भनेको सङ्गठनको फाइदाको कुरा हो ।उक्त दक्ष जनशक्तीको क्षमता अभिवृद्धि गर्दै कर्मचारीको मनोबल उच्च राखी कार्य लिन सकेमा जनशक्ती विकासको लक्ष्य र सङ्गठनको माथिल्लो लक्ष्यमा अवश्य पुग्न सकिन्छ ।