सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय कार्यसमिति थाहानगरको प्रथम परिषद बैठक १९ जेठमा सम्पन्न भएको छ ।

थाहा नगरपालिका वन, वातावरण तथा विपद व्यवस्थापन समितिको संयोजक एवम् वडा नं. ३ का वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझीको प्रमुख आतिथ्यता तथा स्थानीय महासंघ अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

परिषद बैठकसमक्ष अध्यक्ष गणेशमान श्रेष्ठले स्थानीय महासंघको प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०८१।८२ को कार्यक्रमहरु प्रस्ताव गरेका थिए । परिषदले आगामी वर्षका लागि दर्ता प्रक्रियामा रहेका सामुदायिक वनहरुलाई दर्ताको लागि सहजीकरण गर्ने, नवीकरणको प्रक्रियामा रहेका सामुदायिक वनहरुको नवीकरण गर्ने तथा कार्ययोजनाको अवधि सकिएका सामुदायिक वनहरुको नवीकरणका लागि आवश्यक सहजीकरण गर्ने, सामुदायिक वनमा संरक्षण पोखरीहरु निर्माण गर्न पहल गर्ने, सामुदायिक वनहरुको संस्थागत विकासका लागि कार्यक्रम संचालन गर्ने, सामुदायिक वनहरुमा आयमूलक कार्यक्रमहरु सञ्चालन गर्न पहल गर्ने,  वन संरक्षणसम्बन्धमा आवश्यक जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने, सामुदायिक वन भित्र खाली ठाउँमा जडिबुटी नमूना खेती गर्न प्रोत्साहन गर्नुका साथै आवश्यक व्यवस्थाका लागि कार्यक्रम सञ्चालन गर्ने जस्ता कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । त्यसैगरी इको टुरिजमको लागि सम्भावित सामुदायिक वनहरुको पहिचान गरी पर्यटकीय क्षेत्रहरुको विकास गर्ने र स्थानीय वन ऐन संसोधनको लागि पहल गर्ने निर्णय पनि गरेको छ ।

थाहा नगरपालिकाको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा वन तथा वातावरणको विषयलाई समेट्न स्थानीय महासंघको तर्फबाट आवश्यक सुझाव पेश गर्ने पनि परिषदले निर्णय गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि रायमाझी, थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, सब डिभिजन वन कार्यालय चित्लाङका प्रमुख श्रीकृष्ण न्यौपाने लगायतले थाहा नगरको वन विकासको बारेमा मन्तव्य राख्दै परिषदको सफलताको शुभकामना दिएका थिए ।

स्थनीय महासंघ सचिवालय सदस्य विनोद केसीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त बैठकमा परिषद सदस्यहरुको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी