मकवानपुरको राक्सिराङ गाउँपालिका—७ ताकनाका बासिन्दा गाउँपालिकाको अध्यक्षसहितको टोली पहिलो पटक गाउँमा देख्दा दंग परे । पालिकाका जनप्रतिनिधि हुन् वा कर्मचारी, ताकना पुगेको यो नै पहिलो पटक हो । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल दुई पटक पालिकाको अध्यक्ष निर्वाचित भइसके । तर उनी ताकना पुगेका थिएनन् ।

‘पहिलो चोटि यो गाउँ आउदै छु,’ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने, ‘निर्वाचनको बेला पनि भोट माग्न यहाँ आइएन, अरु बेला त झन् फुर्सद नै नहुने बल्ल(बल्ल फुर्सद मिलाएर यहाँ आइयो ।’ पालिका अध्यक्ष मल्लमात्र होइन, पालिकाकै प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौला पनि त्यहाँ पुगेको पहिलो पटक हो । प्रशासकीय अधिकृत गड्तौलाले पालिकाको जिम्मेवारी सम्हालेको करिब २ वर्ष बित्न लागि सक्यो । सार्वजनिक सुनुवाईका लागि शनिवार पालिकाका अध्यक्ष मल्ल र प्रशासकीय अधिकृतको टोली ताकना पुगेको थियो ।

चितवन जिल्लाको भण्डारा बजार हुँदै पालिकाको टोली मकवानपुरको विकट गाउँ ताकनाका पुगेको थियो । पैदल हिडेर ताकना पुग्न ८ घन्टा लाग्छ । हिउँद महिनमा हलुका गाडी लिएर ताकना नजिकसम्म पुग्न सकिन्छ । भखरैमात्र भण्डाराबाट ताकनासम्म पुग्न ट्याक खोलिएको छ ।

एक झर पानी परेपछि बाटो नै बन्द हुन्छ । चेपाङ समुदायकोमात्र बसोबास रहेको ताकनामा पुगेका जनप्रतिनिधि र पालिकाका प्रशासकलाई गाउँलेहरुले खानेपानी, बाटो, स्कुल र स्वास्थ्य चौकीको माग गरे । गाउँमा पुगेका स्थानीय सरकारसंग गाउँलेले डराइ(डराइ सुस्त स्वरमा बाटो, विद्यालय र स्वास्थ्य चौकीको माग गरेका थिए । स्थानीय युवा मिलन चेपाङले गाउँमा विद्यालय नहुँदा चितवन जिल्लाको राप्ती नगरपालिका—१२ स्थित विद्यालयमा पढ्न जानु पर्छ, उक्त स्कुलमा पुग्न ताकनाबाट २ घन्टा हिड्नुपर्ने बताए । ुगाउँमा ५ कक्षासम्म पढने स्कुलको भएको भए यहाँका बालबालिकालाई पढन सजिलो हुन्थ्यो,ु उनले भने ।

गाउपालिकाले ग्रेटर ताम्सालिङ मिडिया प्रालिसँगको समन्वयमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा चेपाङ समुदायले खुलस्त रुपमा योजना माग गरेको गाउँपालिका अध्यक्ष मल्लले बताए । अधिकांश गाउँलेहरुले स्कुलको माग गरेका थिए । ‘त्यसैगरी धिराङ हुदै गर्लिङ जोड्ने मोटरबाटो निर्माण गर्न माग गरेका थिए ।उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा चमेली माया चेपाङले हिउँदमामात्र मोटर बाटो चल्ने भएपनि एम्वुलेन्सको व्यवस्था गरिदिन माग गरेकी थिइन् । स्वास्थ्य चौकी टाढा भएकाले बिरामी तत्काल उपचार गर्न नपाउँदा अकालमै यहाँका बासिन्दाहरुको मृत्यु हुने गरेको चमेलीले दुखेसो पोखिन् । वडाध्यक्ष रामबहादुर चेपाङको अध्यक्षतामा भएको कार्यक्रममा दुर्गम गाउँमा पालिकाका अध्यक्षसहित हाकिमहरु आएकोमा स्थानीयबासीले खुशी मनाए । चेपाङहरुको मात्र बस्ती रहेको ताकनामा ४३ घरधुरी छन् ।

पालिका प्रेस
थप जानकारी