जातीय विभेद् तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा थाहामा अन्तरक्रिया भएको छ । शिखरकोटको विकास घरमा थाहा नगरपालिकाको आयोजनामा भएको अन्तरक्रियामा जात व्यवस्थाको अन्त्य गर्दै समतामूलक समाजको निर्माण केन्द्रित भएको थियो । कार्यक्रममा सहभागी दलित अगुवाहरुले उजुरीका रुपमा हेर्दा थाहा नगरमा जातीय विभेद नदेखिए पनि व्यक्ति र समुदाय पिच्छेका व्यवहारमा विभेद बढ्दै गएको उल्लेख गर्दै स्थानीय सरकार भौतिक विकास केन्द्रित मात्र नभई सामाजिक रूपान्तरण तर्फ केन्द्रित हुन सुझाव दिएका थिए ।\

कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले नेपालको संविधानको मर्मअनुसार जातीय विभेद अन्त्यमा अपेक्षित उपलब्धी हासिल नहुनुमा सबैको दोष रहेको बताए । दलित दलित बीचको विभेद अझै कायम भएको उल्लेख गर्दै दोषारोपण गर्ने, कानून रट्ने भन्दा संकीर्ण सोचको अन्त्य गरेको खण्डमा सबैखाले विभेद अन्त्य हुने बताए ।

दलित मुक्ति मोर्चाका प्रदेश नेता जमिन दियालीले दलित मुक्तिका लागि जनसंख्याको अनुपातमा सत्तामा दलितको प्रतिनिधित्व हुने सुनिश्चितता नै मुख्य मुद्दा भएको बताउदै राज्य सत्ताभन्दा बाहिर बसेर छुवाछुतको युगीन दासत्व र अन्यायको विष पिएर बाँच्दै आएको समाजको असमान संरचनालाई दलितले बदल्नै नसकेको उल्लेख गर े। उनले भने–‘दलितलाई सत्ताबाहिर राखेर समाजमा शासक वर्गले देखाउने भँडुवा विकासको नाराले दलितको जीवनस्तर परिवर्तन हुनै सक्दैन ।’ दियालीले खासगरी राज्यसत्ताको संरचनामा दलित जनताको प्रतिनिधित्वको हकलाई व्यवहारमा सुरक्षित नगरी दलित अधिकार सुनिश्चित हुन नसक्नेमा जोड दिए।

जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीलेले जातीय विभेदविरुद्ध थुप्रै कानुन निर्माण भएपनि कार्यान्वयनमा चुनौती देखिएको बताए । फरक सोचका यादव जंग रायमाझीले कानुनले मात्रै सामाजिक कुरीति अन्त्य सम्भव नभएकोले समाज रुपान्तरणका लागि विभेदरहित सोचको विकास गर्न जरुरी रहेकोमा जोड दिए । अन्तरक्रियामा आफ्ना भनाइ राख्ने सहभागी हरुले कानुनमा जातीय विभेद अन्त्य भएपनि जनचेतनाको अभाव, गरिबी, दलित अधिकारकर्मीहरूकै निष्क्रियताका कारणले व्यवहारमा जातीय विभेद ज्युँका त्युँ रहेको बताएका छन् ।

नगर दलित संजालका संयोजक अर्जुन सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस थाहानगर उपसभापति नवराज कार्की, नेकपा एमालेका उपाध्यक्ष सुर्य बहादुर लामा, माओवादी केन्द्रका नगर सचिब लक्ष्मण बिष्ट ,पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगर, सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने, पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट तथा विभिन्न राजनैतिक दलका प्रतिनिधि, दलित जनप्रतिनिधिलगायतका उपस्थिति रहेको थियो । कार्यक्रम सुरेन नेपालीले संचालन गरेका थिए भने नवराज नेपालीले अतिथी तथा सहभागीहरुलाई स्वागत गरेका थिए ।

पालिका प्रेस
थप जानकारी