मकवानपुरको थाहा नगरपालिकामा विविध कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस २०८१ भव्य रूपमा मनाइएको छ । ‘हाम्रो भुमी, हाम्रो भविष्य’ भन्ने विश्वव्यापी नाराकासाथ थाहानगरका विभिन्न संघ–संस्था, बजार व्यवस्थापन समिती, टोल विकास संस्था, तथा नीजि र संस्थागत विद्यालयहरुले दिवस मनाएका हुन् ।

थाहा नगरपालिकाको आयोजनामा वडा नम्बर ४ नयाँगाउँको थाहा पार्क परिसरमा कागती, सुन्तला, आलुबखडा, आल्चा, मुन्तलालगायतका फलफूलका बिरुवा रोपिएको छ । थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टको विशेष उपस्थितीमा भएको कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, नेपाली काँग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशी, एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष जयराम खत्रीलगायत पालिकाका कर्मचारीहरु टोल विकास संस्थाका प्रतिनीधि तथा स्थानीयहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

दिवसको अवसरमा थाहा नगरपालिकाका नगर प्रमुख बिष्टले स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सार्थक बनाउन प्रण गर्नुपर्ने उल्लेख गरे । उनले सबैको सहयोगले जलवायुको समस्या, हरितगृह ग्यास उत्सर्जनको कारणले भएको वातावरण प्रदूषणलाई कम गर्न वृक्षारोपण आवश्यक रहेको बताए । यसका लागि एकदिन मात्र नभई वातावरण सन्तुलन राख्ने कार्यक्रमहरु निरन्तर गर्नुपर्ने उनको भनाइ थियो ।

वातावरण दिवसको अवसरमा थाहानगर भित्रका विभिन्न टोल विकास संस्थाहरुले टोल सरसफाई तथा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेका छन् भने विद्यालयहरुले पनि ¥यालीसहित कार्यक्रमहरु संचालन गरेका छन् । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

 

FB_IMG_1717586543055-1717586672.jpg
FB_IMG_1717586716158-1717586736.jpg
पालिका प्रेस
थप जानकारी