जिल्ला समन्वय समिति (जिसस)मकवानपुरको तेस्रो त्रैमासिक समीक्षा कार्यक्रम भएको छ । समिक्षिामा संघ तथा बागमती प्रदेशस्तरका कार्यालय र मकवानपुरका स्थानीय तहहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकका गरेका कामको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको मकवानपुर क्षेत्र नम्बर–२ का सांसद तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले उद्घाटन् गरे । उनले बागमती प्रदेशको राजधानी हेटौँडा फराकिलो हुनुपर्ने बताएका छन् । उनले हेटौँडाको सडक २५ मिटर फराकिलो हुनुपर्नेमा जोड दिए । उनले सडक बिस्तार गर्दा कसैलाई पनि आकाशमुनिको बास बनाउन नहुने स्पष्ट पारे ।

उनले साझा योजना बनाएर अगाडि बढे जिल्लाको विकास गर्न सकिने बताए । विकास निर्माणका विषयमा साझा संकल्प गरेर अगाडि बढ्नुपर्ने बताए । प्रसंग जोड्दै उनले मकवानपुरको भीमफेदी सुरूङ मार्ग निर्माणको नाममा पूर्वाधार कम्पनीले जनताको पैसा लिएर फरार भएको स्मरण गराउँदै भीमफेदी कुलेखानी सुरूङ मार्ग निमार्णका लागि जिल्लाका सबै एक भए मात्रै सम्भव हुने बताए । उनले मकवानपुरको उत्तरी क्षेत्र दामन, पालुङ, चित्लाङमा पर्यटन प्रवर्द्धन गर्न पर्यटनको केन्द्र बनाउनुपर्ने बताए । उनले पर्यटनको विकास गर्नसके रोजगारी सिर्जना हुने विश्वास गरे ।
हेटौँडामा बन्द रहेको रोपवेको सदुपयोग गर्नपर्नेमा जोड दिँदै साझा दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्ने बताए । उनले मनहरी–थाहा जोड्ने रूपचन्द्र बिष्ट राजमार्ग बनाउन सबैको साझा धारणा आवश्यक रहेको बताए । हेटौँडा औद्योगिक नगरी भए पनि एकपछि अर्को उघोगधन्दा बन्द भएकोमा चिन्ता व्यक्त गर्दै हेटौंडा औद्योगिक क्षेत्रमा पहुँचवालाले जग्गा कब्जा गरेर उद्योग नचलाएको बताए । उनले विकास निर्माणको क्षेत्रमा सबै दल र स्थानीय तहले साझा योजना बनाएर अगाडि बढ्न सबैलाई आग्रह गरे ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले राजस्व वृद्वि गर्न र प्राकृतिक स्रोतहरूको सदुपयोग गर्नुपर्ने बताए । उनले जिल्लाको विकास, अवस्था, समस्या र उपलब्धिका विषयमा छलफल हुनुपर्ने बताए । हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले स्थानीय तहलाई बलियो बनाउँदै लानुपर्ने बताउँदै सबङ्घ, प्रदेशको कानुन स्पष्ट नहुँदा समस्या आएको बताइन् । उनले नदीजन्य बस्तुको उत्खनन गरेर राजस्व सङ्कलनमा कानुनी अप्ठ्यारो भएको गुनासो गरिन् । प्राकृतिक स्रोत साधन स्थानीय तहले उपयोग गर्न नपाउँदा राजस्व गुमेको उनको भनाइ छ । उनले हेटौँडामा २५ मिटर सडक विस्तारको विषय पनि अन्योलमा रहेकाले सरोकारवाला निकायलाई गम्भीर हुन आग्रह गरिन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले प्राकृतिक स्रोतको अधिक दोहन भएकोमा चिन्ता व्यक्त गरे । भावी पुस्ताका लागि पनि सोचेर प्राकृतिक बस्तुको संरक्षण गर्नुपर्नेमा जोड दिँदै अधिक प्राकृतिक दोहनले बाढी, पहिरो निम्त्याएकाले त्यसतर्फ सबै सजक रहनुपर्नेमा जोड दिए । उनले मनसुनजन्य विपद् आउँदै गरेकाले जोखिम न्यूनीकरणाका लागि स्थानीय तहलाई आग्रह गरे ।

प्रदेश कोष तथा नियन्त्रण कार्यालयका हरिप्रसाद उपाध्यायले जिल्लामा ६ अर्ब २५ करोड कुल निकास गरेको बताए । चालू खर्च तर्फ ३ अर्ब ३७ करोड र पुँजीगत २ अर्ब ८८ करोड खर्च भएको जानकारी दिए । कार्यक्रममा नेपाली काँग्रेस सभापति बुद्ध लामा, माओवादी केन्द्र संयोजक भिम पाख्रिन, समाजवादी मकवानपुर अध्यक्ष बिष्णु दहाल, राप्रपाका गुरु प्रसाद सापकोटा, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा लगायतकाले शुभकामना दिएका थिए ।

कार्यक्रममा जिल्लागत प्रगति विवरण पेश गरिएको थियोे । जिसस उपप्रमुख सानुकाजी लुइँटेलबाट स्वागत गरिएको कार्यक्रम जिल्ला समन्वय अधिकारी सूर्यप्रसाद चापागाईंले सञ्चालन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी