बागमती प्रदेश सरकारले १३ वटा स्थानीय तहका १३ वटा वडामा नमुना वडा समाजवादी कार्यक्रम सुरु गरेको छ । १२ मंसिर २०८० मा बनाइएको नमुना वडा समाजवादी कार्यक्रम कार्यविधिअनुसार मंगलबार बसेको मन्त्री परिषद बैठकले वडा चयन गरी कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

१३ वटा जिल्लाका एक एक पालिका छनौट गरी ती पालिकाको पनि एक एक वटा वडामा यो कार्यक्रम कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णयमा भनिएको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार प्रदेशका १३ वटा जिल्लाबाट १३ वटा वडा छनोट भउका हुन् । उनका अनुसार प्रदेश सरकारले मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर–७, चितवनको माडी नगरपालिकाको वडा नम्बर–९, सिन्धुलीको ध्याङलेख गाउँपालिकाको वडा नम्बर–१, भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नम्बर–४, काठमाडौँको शंकरापुर नगरपालिकाको वडा नम्बर–२ र ललितपुरको केन्ज्योसोम गाउँपालिकाको वडा नम्बर– २ नमुना वडा समाजवादी कार्यक्रममा छानिएका छन् ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको वडा नम्बर–७, सिनधुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नम्बर–३, नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको वडा नम्बर–३, रसुवाको नौकुण्ड गाउँपालिकाको वडा नम्बर–५, धादिङको रुविभ्याली गाउँपालिकाको वडा नम्बर–५, काभ्रेको महाभारत गाउँपालिकाको वडा नम्बर–१ र दोलखाको गौरीशंकर गाउँपालिकाको वडा नम्बर–१ पनि छनौटमा परेका छन् । छनोट भएका वडा र सम्बन्धित स्थानीय तहले कार्यक्रम कार्यान्वयनको लागि कार्यविधि अनुसारको कार्यक्रम तय गरी सम्झौता गर्नुपर्ने छ । यी वडामा प्रदेश सरकार र सम्बन्धित स्थानीय तहको सह–लगानीमा नमुना वडा समाजवादी कार्यक्रम सञ्चालन हुनेछ ।

एक करोड रुपैयाँ बजेट मार्फत कार्यक्रम सञ्चालन गरिने छ । प्रदेश सरकारले ९० लाख रुपैयाँ र स्थानीय तहले १० लाख रुपैयाँ लगानी गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । यो कार्यक्रममार्फत प्रदेश सरकारले मानव सूचकांकमा पछि परेका स्थानीय तहका नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा काम गर्नेछ ।समाजवादी कार्यक्रम अनुसार प्रदेश सरकारले छनोट गरेका वडाहरुमा उत्पादन वृद्धि गरी खाद्य सुरक्षा सुनिश्चित गर्ने, उद्यमशिलता वृद्धि गर्ने, गरिब, विपन्न, असहाय, ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउने, शुद्ध खानेपानी, सफा शौचालय र स्वच्छ उर्जामा सबै नागरिकको पहुँच स्थापित गर्ने लक्ष्य छ ।

गत आर्थिक वर्षदेखि प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत नमुना वडा समाजवादी कार्यक्रम गर्दे आएको छ ।

पालिका प्रेस
थप जानकारी