थाहानगरका २० जना महिलाले आत्म निर्भरताको लागि सीप सिकेका छन् । उनीहरुलाई थाहा नगरपालिकाले छ दिने प्रयोगात्मक सीपमूलक तालिम दिएको हो । साना लगानीबाट पनि महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले महिलाहरुलाई साबुन, फिनेल र हर्पिक बनाउने तालिम दिइएको हो । नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिमको व्यवस्थापन दामन चेली समाजले गरेको थियो ।

तालिमको २५ जेठमा भएको समापनका समारोहमा थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले परम्परागत तालिमभन्दा यस खाले तालिमले नयाँपन ल्याएको बताए । उनका अनुसार तालिममा सहभागी भएर अब साबुन, हर्पिक र फिनेल बनाएर स्वरोजगारीमुखी हुनेलाई नगरपालिकाले सक्दो सहयोग गर्नेछ । प्रमुख विष्टले महिलाहरुले उत्पादन गरेको सामान नगरपालिका मातहतका कार्यालय,विद्यालय तथा स्वास्थ्य केन्द्रमा प्रयोग गर्न नगरपालिकाले पहल गर्ने विश्वास दिलाए।

सो क्रममा थाहा वडा नंम्बर ३ का वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले तालिममा सहभागीलाई अब सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्न सामान तयार गर्नतिर लाग्नुपर्ने सुल्झाए । तालिममा हर्पिक र फिनेल बनाउने प्रयोगात्मक तालिम प्रशिक्षक राधिका चौलागाईंले प्रशिक्षण दिएकी थिइन् । २० जेठबाट शुरु भएको तालिममा नगरका २० जना महिलाहरुले सहभागिता जनाएका थिए । दामन चेली समाजको आयोजनामा भएको तालिमलाई थाहा नगरपालिकाको महिला तथा बालबालिका शाखाले सहयोग गरेको थियो ।

तालिममा सहभागी महिलाहरुले बनाएका साबुन, हार्पिक र फिनेलको पनि समापन कार्यक्रममा प्रदर्शन गरिएको थियो । दामन चेली समाजका अध्यक्ष राधिका रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई समाजका सचिव शकुन्तला गोपालीले संचालन गरिन्े भने उपाध्यक्ष राममाया खत्रीले स्वागत गरेकी थिइन् । कार्यक्रममा सहभागीहरुले आफुले उत्पादन गरेको सामानलाई नगरपालिकाले बजारीकरणको लागि सहयोग गरिदिन आग्रह गरेका थिए।
समापन कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, महिला तथा बालबालिका समिती सदस्य चन्द्रमाया थिङ, न्युज २४ टेलिभिजनका ब्युरो प्रमुख बाशु श्रेष्ठ, दामन चेली समाजका पुर्व अध्यक्षहरु रिता कार्की, जयन्ती रायमाझी, नागरिक आरोग्य सेवा केन्द्रकी देवकी तिमल्सिनालगायतकाको उपस्थिती थियो ।

पालिका प्रेस
थप जानकारी