मकवानपुर थाहा नगरपालिका वडा नम्बर ७ को सामुदायिक विद्युत सञ्चालनको सात वर्षपछि नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको छ । थाहा नगरपालिका ७ स्थित जलेश्वरी सामुदायिक विद्युत सहकारी संस्थाबाट वितरण भईरहेको विद्युत नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रलाई २६ जेठमा हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा विद्युत स्वामित्व हस्तान्तरण प्रक्रियामा सहज सहजीकरण र प्रयासको कदर गर्दै पालुङ वितरण केन्द्र प्रमुख माधव न्यौपानेलाई संस्थाले सम्ममान गरेको छ । थाहा नगरपालिका प्रमुख विष्णु बहादुर विष्टले प्रमुख न्यौपानेलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सामुदायिक संस्थाबाट वितरण भईरहेको विद्युत सुधारको प्रतिवद्धता र सामुदायिक संस्थाबाट स्वामित्व हस्तान्तरणमा प्रमुख न्यौपानेको सहयोग, अविभावकत्व र सकारात्मक प्रयारको प्रशंसा गर्दै सम्मान गरिएको सामुदायिक संस्थाका अध्यक्ष सोनाम सिंह मुक्तानले बताए ।

वि.सं. २०७४ सालमा स्थापना भई ७ नम्बर वडाको महादेवखर्क, छाप क्षेत्रमा १ सय १३ घर घुरीमा संस्था मार्फत विद्युतीकरण भएको थियो । संस्थाले २६ जेठमा आयोजना गरेको कार्यक्रमको अवसरमा विद्युत संरचनासहित स्वामित्व हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले थाहा नगरपालिका सहित उक्तरी मकवानपुरमा दीगो र भरपर्दो विद्युत सेवा दिन पालुङ वितरण केन्द्रले धादिङ, ललितपुरबाट बिजुलीको स्रोत जोडिसकेको र हेटौंडा तथा कीर्तिपुरबाट पनि जोड्ने प्रयास भईरहेकोले उक्त कार्यले नगरमा दिगो विजुली प्रवाह हुने भन्दै प्रशंसा गरे ।

हस्तान्तरण कार्यक्रममा पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले विद्युत सेवालाई दिगो र भरपर्दो बनाउन कार्ययोजना बनाई काम भई रहेको बताए । न्यौपानेले तत्कालिन अवस्थाको आवश्यक्ता बमोजिम सामुदायिक संस्था मार्फत विद्युत सेवा विस्तार भएको भए पनि अहिलेको जनचाहाना विद्युत प्राधिकरणबाटै सेवा लिने देखिएकाले समुदायिक संस्थाबाट प्राधिकरणले स्वामित्व लिएको र अबका सेवा तथा सुधार प्राधिकरणले गर्ने उल्लेख गरे ।

कार्यक्रममा थाहा नगरपालिकाका पुर्व प्रमुख लवशेर विष्टले थाहा नगरपालिकाको आग्रा क्षेत्रमा विद्युत विस्तारको लागि तत्कालिन आवश्यक्ता सामुदायिक विद्युतिरण नै देखेर जनताको स्वामित्वको संस्था बनाई विद्युतिरण गरिएको स्मरण गराए । संस्थाका अध्यक्ष सोनाम सिंह मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय जनप्रतिनिधि संघ संस्थाका प्रतिनिधि सहित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष अरुण रायमाझी ईन्द्रयाणी माविका प्रधानाध्यापक नारायण बहादुर कार्कीलगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पालिका प्रेस
थप जानकारी