थाहा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई ‘करियर काउन्सिलिङ’ कार्यक्रम गरेको छ । थाहा नगरपालिकाको महिला, बालबालिका जेष्ठ नागरिक तथा अपांग परिचयपत्र शाखाले आयोजना गरेको कार्यक्रममा थाहानगरका एसइई दिएर बसेका बिद्यार्थी, शिक्षक, अभिभावकको समेत सहभागिता रहेको थियो । उनीहरुका लागि पालिकाले दिएको करियर काउन्सिलिङ र आर्ट अफ प्यारेन्टिङ कार्यक्रम २६ जेठमा समापन गरिएको छ ।

कार्यक्रममा थाहा नगरपालिका प्रमुख विष्णु बहादुर विष्टले विद्यार्थीहरुलाई अहिलेदेखि नै मेहनत गरे जीवनमा सक्षम र सफल हुन सकिने बताए । प्रमुख विष्टले पारिवारिक दबाब भन्दा पनि आफ्नो क्षमता र इच्छा अनुसारको विषय छनोट गर्न आग्रह गरे । कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले शिक्षक र अभिभावकबीचको सहकार्य र समन्वयले नै विद्यार्थीलाई सधैं ऊर्जावान् र सक्रिय बनाउने बताउँदै विद्यालयका लागि अभिभावकको भूमिका अतुलनीय हुने सुनाए ।

दुई दिनसम्म संचालित कार्यक्रममा पहिलो दिन एसइई दिएर बसेका थाहाका १६ वटा संस्थागत तथा सामुदायिक विद्यालयका २ सय विद्यार्थीलाई अनिता बलले सहजीकरण गरेकी थिइन् । उनले संसारमा हरेक मानिसमा भिन्दाभिन्दै प्रतिभा हुने भन्दै उनीहरुले आफू भित्रको प्रतिभा चिन्न सके जीवनमा सहजै सफल हुन सक्ने भएकोले एसइईपछिको शैक्षिक भविष्यकोबारे गम्भीर हुन आग्रह गरिन् ।

कार्यक्रममा थाहा जीवन योग प्रयोगशालाका योग गुरु देवेन्द्र रुपाखेतीले विद्यार्थीहरुलाई योग र ध्यानबाट काउन्सिलिङ गरेका थिए। विद्यालय व्यवस्थापन समितिका सदस्य तथा शिक्षक अभिभावक संघका पदाधिकारी र अभिभावकहरुको लागि पनि आर्ट अफ प्यारेन्टिङ कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा अविभावकलबालबालिकाहरुलाई घर घरमा असल संस्कारका कुराहरु गरिदिने, असल चरित्र, अनुशासन, मान सम्मान, आदर तथा सकारात्मक भाईब्रेसन आउने कुराहरु गर्न जरुरी रहेको बताइएको थियो । यसका लागि विद्यालय, शिक्षकको मेहनतकासाथ अविभावकको सकारात्मक भूमिकाको बारेमा काउन्सिलिङ गरिएको महिला, बालबालिका शाखाकी शाखा प्रमुख प्रतिमा मोक्तानले जानकारी दिइन् ।

महिला तथा बालबालिका समिती संयोजक अनिता बलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता तथा उपप्रमुख भरत गोपालीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरी, शिक्षा शाखा प्रमुख माधव बिक्रम मल्ल, शिक्षक महासंघ थाहाका अध्यक्ष राजाराम कार्की, प्याव्सन थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगर लगायत शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी