मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. २ मा पिकअप गाडी पल्टिदा सडक अवरुद्ध भएको छ । हेटौंडा काठमाण्डौ जोड्ने छोटो मार्ग अन्तर्गत कुलेखानी–कलंकी नजिक पिकअप गाडी सडकमा पल्टिँदा मार्ग अवरुद्ध भएको हो ।

२२ भाद्र बिहान पिकअप गाडी सडकमा पल्टिएपछि सडकमा सवारी आवागमन पूर्णरूपमा प्रभावित भएको हो । गाडी सडकको बीच भागमै पल्टिएका कारण हेटौंडाबाट काठमाडौँतर्फ जाँदै गरेका सयौँ सवारीसाधन बाटोमै रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनापछि सडकमा सवारीको लामो लाइन लागेको छ । पिकअप हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यस मार्ग हुँदै दैनिक ठूलो संख्यामा सवारीसाधन हेटौंडा–काठमाडौँ आवतजावत गर्ने गरेका छन् । सडक अवरुद्ध भएपछि यात्रु तथा चालकहरू बीच बाटोमै अलपत्र परेका छन् । पछिल्लो समय पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा सडक अवरुद्ध भएपछि हेटौंडा–काठमाडौँ आवतजावतका लागि त्रिभुवन राजपथ, कान्तिलोकपथ र कुलेखानी सडकमा सवारीको चाप बढेको छ । यस्तो अवस्थामा छोटो दुरीको मार्गमै सवारी रोकिँदा यात्रुले थप सास्ती व्यहोर्नुपरेको छ ।

प्रहरीले सडकमा रोकिएका सवारीलाई सुरक्षित रूपमा व्यवस्थापन गर्दै पिकअप हटाउने काम भइरहेको जनाएको छ । सडक खुलेपछि मात्र हेटौंडा–काठमाडौँतर्फको यातायात सहज हुने देखिएको छ ।

पालिका प्रेस
थप जानकारी