मकवानपुरको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले ५ बर्षीय कार्यकालमा गाउँपालिकाबासी खुसी हुने गरी धेरै काम गरेको दावी गर्दै पार्टीले चाहेमा दोहोर्याएर गाउँपालिका अध्यक्ष पदमा उठ्न तयार रहेको बताएका छन् । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा उनले रेडियो मकवानपुरसंग विशेष कुराकानी गर्दै अध्यक्ष दोहोर्याउन मरिहत्ते नगर्ने तर पार्टीले आवश्यक ठानेको खण्डमा आफू पालिका अध्यक्षका लागि तयार रहेको बताएका हुन् ।

       ‘यसअघिको निर्वाचनमा नेपाली कांग्रेसले गाउँपालिका अध्यक्षको लागि उम्मेदवार बनायो । चुनावमा जिताएर जनताको काम गर्ने अवसर पनि दियो’, उनले भने, ‘५ बर्षको समय पूरा गर्दै गर्दा यहाँका जनता र कांग्रेस पार्टीले समेत गर्व गर्ने गरी जनताको काम ग¥र्यौं भन्ने हाम्रो दावी हो । बाँकी मूल्यांकन विस्तारै हुँदैजाला ।’ निर्वाचनमा होमिँदै गर्दा राक्सिराङ गाउँपालिकाका जनतासंग गरेका वाचा र घोषणापत्रमा उल्लेख गरेका अधिकांश योजनाहरु पूरा गरेको उनले दावी गरे । ‘हामीले विकास निर्माणका कामलाई विशेष जोड दियौं’, अध्यक्ष मल्लले भने, ‘अब यहाँका जनतालाई अर्थोपार्जनसंग जोड्नु आवश्यक छ । उत्पादनमुखी बनाउनु आवश्यक छ ।’ मनहरीबाट चैनपुरसम्म जाने सडक निर्माण गर्नुका साथै प्रत्येक वडामा बाटो पु¥याइएको र परेवाभीरको बाटोको काम धमाधम निर्माण भैरहेको उनले जानकारी दिए । ‘बर्षामा खोलामा हेल्लिएर हिंड्न बाध्य राक्सिराङबासी अहिले त्यो समस्याबाट करिब मुक्त भएका छन् । बाटो स्तरीकरणको काम भैरहेको छ । आवश्यकताको आधारमा हामीले धमाधम बाटो खन्यौं । गाउँमा शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका कामका लागि बाटो नै चाहिने रहेछ’, अध्यक्ष मल्लले भने ।

   गाउँपालिकामा कर्मचारी र अन्य जनप्रतिनिधिसंग मिलेरै पालिकाबासीको हितमा काम गरेको उनको दावी छ । ‘गाउँपालिकाका जनप्रतिनिधि हामी फरक पार्टीबाट जितेर आएको भएपनि हामीले जनप्रतिनिधिकै रुपमा काम ग¥यौं । कर्मचारीसंग पनि त्यस्तै मित्रवत् व्यवहारमा काम गरियो । सबै मिलेर काम गरेकैले हामीले गाउँपालिकाबासीको चाहना बमोजिम काम गर्न सक्यौं भन्ने लाग्छ’, उनले भने । राक्सिराङमा चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको र शिक्षामा पछि परेकोले अब शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमका काम गर्नु आवश्यक रहेको अध्यक्ष मल्लको भनाई छ । निर्माणको क्रममै परेवाभीरको बाटोलाई गत बर्षको बाढीले क्षति पु¥याएपछि अहिले धमाधम काम भैरहेको छ । अबको करिब एक/डेढ महिनाभित्र निर्माण कार्य सम्पन्न हुने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ ।

-रेडियो मकवानपुरबाट

पालिका प्रेस
थप जानकारी