निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७८ जारी गरेको व्यवस्था अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ९ जना कर्मचारी रहन्छन भने स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा ८ जना कर्मचारी रहन्छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृतसहित सातौं वा आठौं तहको अधिकृतलाई सहायक निर्वाचन अधिकृतको रुपमा खटाइएको हुन्छ भने लेखापाल वा सहलेखापाल एक जना, सहायक कर्मचारी एक जना कम्युटर अपरेटर एक जना, सवारी चालक एक जना, कार्यालय सहयोगी दुई जना र नीजि सुरक्षा अधिकारी एक जना गरी कूल ९ जनासम्म कर्मचारी राख्न पाउने व्यवस्था गरिएको हुन्छ । महानगरपालिकाको हकमा भने थप प्रशासनिक कार्य सम्पादनका लागि एक जना राजपत्रांकित तृतीय श्रेणी वा अधिकृतस्तर सातौ वा आठौ तहको एक जना कर्मचारी थप खटाउन पाइने व्यवस्था गरिएको छ ।

निर्देशिका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारीहरु सम्बन्धीत स्थानीय तहकै हुने व्यवस्था छ । सम्बन्धित स्थानीय तह क्षेत्रका कार्यालयहरुको कर्मचारी नभएमा मात्र जिल्लाका सरकारी कार्यालयहरुबाट काजमा खटाउनुपर्ने व्यवस्था छ । तर कतिपय निर्वाचन अधिकृतहरुले मनोमानी ढंगबाट कर्मचारीलाई निर्वाचन अधिकृत खटाएको भन्दै स्थानीय तह कर्मचारी सरोकार फोरमले विरोध जनाएको छ ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु ८ वैशाखबाट खटिएका छन् । निर्वाचन आयोगले जिल्ला न्यायधीशलाई मुख्य निर्वाचन अधिकृत र उपसचिव तहका कर्मचारीलाई निर्वाचन अधिकृतको रुपमा खटाएको हो ।

निर्वाचन कार्यक्रम प्रकाशन, उम्मेद्धारी मनोनयन गर्नेदेखि निर्वाचनको नतिजा घोषणा गर्नेदेखि मतदान केन्द्रको अनुगमन, निरीक्षण लगायत मतगणना गर्न तोकिएको स्थानमा मतपेटिका संकलन गर्ने व्यवस्था मिलाउने र मतपेटिका बुझी सुरक्षितसाथ राख्ने जिम्मेवारी निर्वाचन अधिकृतको जिम्मेवारी रहेको छ ।

 स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७८  अनुसार, को-को हुन्छन् कर्मचारी ?