कुनै बेला फुर्सदको समयलाई सदुपयोग गर्ने एक महत्वपुर्ण पाटो नै पुस्तकालय हुन्थ्यो । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि चाहिने जुनसुकै पुस्तक त्यही पुस्तकालयमै पढ्न पाइन्थ्यो । सामान्य ज्ञानदेखि मायाका कथाहरुसम्म पुस्तकालयमै भेटिन्थे । रोचक जानकारी र धार्मिक पुस्तकहरुको त भण्डारण नै हुन्थ्यो । तर, अहिले बेला फेरिएको छ । पुस्तकालय धाएर जानकारी र शिक्षा लिनेहरुको संख्या घटेको छ । बालबालिकालाई सामुदायिक पुस्तकालयको त पत्तै छैन । प्रौढहरुका लागि पनि पुस्तकालय कता हो कता भएको छ ।
प्रत्येक वर्ष १५ भाद्रमा पुस्तकालय दिवस मनाइन्छ । यसवर्षको नारा ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ तय गरिएको छ । केही दिनअघि मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका स्थानीय तहहरुलाई १५ भाद्रको परेको १८औं पुस्तकालय मनाउन परिपत्र गरेको छ । तर मन्त्रालयको परिपत्र कति स्थानीय तहले कार्यान्वयन गर्लान् ? त्यसको अनुगमन गर्ने निकायले जान्लान् ।

पालुङमा स्थापना गरिएको जीवनज्योति पुस्तकालयको जीर्ण भवन । फोटोः पालिका प्रेस
मकवानपुर थाहा नगरपालिकामा रहेका अधिकांश पुस्तकालयहरुको अवस्था नाजुक छ । पुस्तकालय भवन छ, किताब केही मात्रामा छन् । पुस्तकालयमा न पाठक न व्यवस्थापन लथालिङ जस्तै भएको छ । पुस्तकालयको तथ्याङ्ग थाहा नगरपालिकाको प्रोफाइलमा उल्लेख त गरिएको छैन तर, पालिका क्षेत्रमा केही पुराना सामुदायिक पुस्तकालय रहेका छन् । ति मध्ये पनि दुई चार वटा मात्र मुस्किलले तथ्याङ्कमा उतार्न सकिन्छ । थाहा नगरपालिकाको शिखरकोटस्थित नवजागृत पुस्तकालय, थाहा नगरपालिका वडा नम्बर ६ बज्रबाराहीमा रहेको सुनौलो सामुदायिक सिकाइ केन्द्र, पालुङको जीवन ज्योति, ओखरबजारको सुर्योदयलगायतका सामुदायिक पुस्तकालयहरु संरचनामा छन् ।
पालुङमा स्थापना गरिएको जीवनज्योति पुस्तकालय ३ दशकदेखि बन्द छ । पुस्तक धमिराले खाइसकेका छन् । पुस्तकालय भवन टेको लगाएर राखिएको छ । थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्टको सक्रियतामा वि.सं. २०२२ सालमा पालुङ शहरमा स्थापना गरिएको जीवनज्योति पुस्तकालय २०३५ सालसम्म आंशिक चलेको भएपनि २०४८ सालपश्चात् पूर्ण रुपमा बन्द भएको छ । पुस्तकालयमा झन्डै पाँच हजार पुस्तक थिए । अहिले धुलिया लागेका केही पुस्तहरु मात्र छन् ।

शिखरकोटमा रहेको व्यवसायिक भवनसहितको नवजागृती पुस्तकालयको भवन । फोटोः पालिका प्रेस
बाहिरैबाट हेर्दा २०७२ सालको भुकम्पले भवन चरचरी चर्केको छ । ढल्ने अवस्थामा पुगेको भवनको भरेङ चढ्नै डरमर्दो छ । पुस्तक सबै धमिराले खाएर धूलैधूलो भएका छन् । ‘यो पुस्तकालय पूर्ण रुपमा बन्द भएको झन्डै ३५ वर्ष हुन लागिसक्यो,’ पालुङका मधुकर विक्रम श्रेष्ठले भने, ‘पुस्तकालय पहिला राम्रोसँग चलेको थियो बहुदल आएपछि बन्द भएको अहिलेसम्म खुलेको छैन ।ֹ’ पुस्तकालयभित्र भएका पुस्तक धमिराका आहारा भएका छन् भने व्यक्तिले पढ्न लगेका किताब फिर्ता पनि गरेका छैनन् ।

पालुङको पुस्तकालयको अवस्था । फोटोः पालिका प्रेस
रुपचन्द्र विष्टले विभिन्न क्षेत्रबाट इतिहास, जीवनी, समाजशास्त्र, दर्शनलगायत किताब ल्याएर पुस्तकालयमा राखेका थिए । पाँच सयभन्दा बढी पुस्तकालयका सदस्य थिए । उक्त पुस्तकालयले यस क्षेत्रका बासिन्दालाई पढ्ने बानी बसालेको स्थानीयवासी ध्रुव श्रेष्ठले बताए । उनले भने, ‘यो पुस्तकालयले त्यतिबेलाका युवालाई पढ्ने बानी बसालेको थियो ।’ दामन–पालुङमा शैक्षिक जागरण ल्याउने उद्देश्यले पालुङमा मात्र होइन, शिखरकोटमा पनि रुपचन्द्रले नवजागृति पुस्तकालय २०२५ सालमा स्थापना गरेका थिए । त्यो पनि लामो समयसम्म बन्द भयो, अहिले आंशिक सञ्चालनमा छ । लामो समय बन्द रहेको पुस्तकालय मधुसुदन रायमाझी अध्यक्ष भएयता आंशिक संचालनमा छ ।

शिखरकोटको पुस्तकालयको अवस्था । फोटोः पालिका प्रेस
हाल उक्त पुस्तकालय अनिल विष्टको नेतृत्वमा छ । अहिले पनि पाठकहरुका लागि पुस्तकालय खुल्ने गरेको अध्यक्ष विष्टको प्रतिक्रिया छ । नवजागृत पुस्तकालय गोपाल गोपाली र तीर्थदास श्रेष्ठलगायतको प्रयासमा शुभारम्भ भएको थियो । पुस्तकालयको आफ्नै भवन छ । घर भाडामा लगाएर पुस्तकालयले स्रोत संकलन गर्दै आएको छ । आन्दानी भए पनि पुस्तकालयमा पाठक नभएपछि अस्तित्व नै जोगाउन मुस्किल पर्दै गएको छ ।
यस्तै थाहा नगरपालिकाको ओखरबजारमा रहेको सूर्योदय पुस्तकालय बन्द अवस्थामा छ । वि.सं. २०४८ सालमा स्थापना भएको पुस्तकालयको आफ्नै भवन छ । भवन भाडामा लगाइएको छ । पुस्तकालय सञ्चालनमा छैन । थाहा नगरपालिका वडा नं ६ को बज्रबाराहीमा रहेको सुनौलो सामुदायिक सिकाइ केन्द्र मार्फत पुस्तकालय सञ्चालनमा रहेको छ । थाहाको अन्य पुस्तकालय भन्दा उक्त पुस्तकालय फरक छ । वि.सं. २०७० सालमा तत्कालिन जिल्ला शिक्षा कार्यालय मकवानपुरको मातृत्वमा स्थापना भएको उक्त पुस्तकालय अहिले थाहा नगरपालिका शिक्षा शाखा मातहतमा छ । दैनिक विहान र बेलुका नै पुस्तकालय खुल्ने अध्यक्ष रुपचन्द्र गोपालीले जानकारी दिए ।

पालुङको पुस्तकालयको अवस्था । फोटोः पालिका प्रेस
सरकारले पुस्तकालय दिवस मनाउने भनिरहँदा थाहा नगरपालिकामा रहेको अधिकांश सामुदायिक पुस्तकालयहरुको अवस्था यता न उता छ । पुस्तक प्रेमीहरु भन्छन्–‘पुस्तकालयलाई प्रविधिको विकास सँगै कसरी अघि बढाउने भन्ने कुरामा सबै सरोकारवालाहरुको चिन्ताको विषय हो तर पुस्तकालयको महत्व आफ्नै छ यसलाई ब्युताउनु आवश्यक छ ।’
वि.सं. २००९ सालमा भीमफेदीमा स्थापना गरिएको ज्योति पुस्तकालय त्यो पनि दयनीय अवस्थामा छ । मकवानपुरको यो पहिलो पुस्तकालय हो । २०१८ सालतिर हेटौंडामा स्थापना गरिएको हाम्रो पुस्तकालय, २०२८ सालमा हटिया गाविसमा स्थापना गरिएको धरणीधर पुस्तकालय, २०२५ सालमा स्थापना गरिएको मानस पुस्तकालय र २०३५ सालमा स्थापना गरिएको जनपुस्तकालय पनि उस्तै हालतमा छन् ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्