मकवानपुरको थाहा नगरपालिकाका वडा नम्बर ७ मा निर्माणाधिन मझुवा चिसापानी लिफ्टिङ खानेपानी आयोजनाको ६ साउनमा स्थलगत अनुगमन तथा निरीक्षण भएको छ ।

थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टको विशेष उपस्थितीमा भएको अनुगमन तथा निरीक्षण कार्यक्रममा नगरस्तरीय अनुगमन समिति संयोजक तथा अनगर उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, च्वाइस नेपालका ‘कन्ट्री डाइरेक्टर’ प्रतीक शर्मा, थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक शकुन्तला गोपाली, स्थानीय समाजसेवी बिमलकुमार ढकाललगायतको उपस्थिती रहेको थियो ।

विगत लामो समयदेखि निर्माणाधिन उक्त खानेपानी आयोजनामा थाहा नगरपालिकाको विकास साझेदार संस्था च्वाइस नेपाल, जिल्ला समन्वय समिति मकवानपुर, बागमती प्रदेश सरकार तथा थाहा नगरपालिकाको समेत लगानीमा निर्माण भइरहेको छ । अनुगमन निरीक्षणका क्रममा खानेपानी आयोजना सञ्चालनका लागि अन्तिम चरणमा रहेको पाइएको नगर प्रमुख विष्टले प्रतिक्रिया दिए । आयोजनाको पाइपलाईन, रिजर्भ ट्याङ्की, धारालगायतको संरचनाको स्थलगत निरीक्षण पश्चात् ७ नम्बर वडा कार्यालयमा उपभोक्तासहितको उपस्थितीमा योजनाको विषयमा समीक्षा समेत भएको थियो ।

कार्यक्रमको अवसरमा खानेपानी योजना नागरिककै लागि निर्माण गरिएकोले यसको संरक्षण र दिगोपनामा पनि नागरिकको महत्वपूर्ण भुमिका हुने प्रमुख विष्टले बताए । लामो प्रतिक्षापश्चात् सो योजना मार्फत ‘एक घर, एक धारा’ निर्माण सम्पन्न गरी परीक्षण वितरण समेत शुरु भइसकेको बताउँदै विकास साझेदार, प्रदेश सरकार र स्थानीय उपभोक्ताका लागि खुशीको कुरा भएको उनले बताए । उनले यस कार्यमा सहयोग गर्ने च्वाइस नेपाललगायत सबैलाई धन्यवाद दिए । च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्माले समुदायको जोडबल र च्वाइस तथा नगरपालिकाको सहयोगले योजना सम्पन्न उन्मुख भएको बताए । उनले योजना सम्पन्न हुनुमा उपभोक्ताकै ठूलो योगदान रहेको प्रति इङ्कित गर्दै प्रशंसा गरे । काम गर्दाको शिलशिलमा भुलबस सबैको गल्ती हुन सक्ने बताउँदै त्यसबाट हुने सिकाइले उपलब्धी हासिलमा योगदान पुग्ने बताउँदै भने–‘काम गर्नेको गल्ती हुन्छ, कामै नगर्नेको कसरी गल्ती हुन्छ ?’ योजना सम्पन्न भएपनि त्यसपछिका चरणमा पनि च्वाइस नेपाल सँधैसँगै रहने प्रतिवद्धता व्यक्त गरे ।

थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले धारामा पानी झर्नुमात्र उपलब्धी नभई यसको दिगोपना, संरक्षणमा ध्यान दिनु थप अर्को महत्वपूर्ण सवाल हुने सुझाए । परियोजनामा बाँकी कतिपय कामलाई क्रमशः सुधार गर्दै जानका लागि पालिका र उपभोक्ताहरु लागिपर्नुपर्ने धारणा राखे । खानेपानी व्यवस्थापनका लागि नगरपालिका र थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डसँग समन्वय गर्न उनले सुझाव दिए । ७ नम्बर वडाध्यक्ष शिवराज थिङले खानेपानीप्रति निरासा जागेको बेला नगरपालिका र च्वाइस नेपालको सहयोगले आशा जगाएको बताए । उनले वडाको विकासमा सबैले सहयोग गरिदिन अनुरोध पनि गरे । कार्यक्रममा उपभोक्ताहरुले थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत योजना सञ्चालन व्यवस्थापनको जिम्मा लिई सहयोग गर्नुपर्ने उपभोक्ताहरुले प्रतिक्रिया दिए । उनीहरुले परियोजनामा निर्माण सम्पन्न गर्न कतिपय कामहरु पालिका र च्वाइस नेपालको सहयोग सञ्चालन हुने विश्वास व्यक्त गरे । उनीहरुले उपभोक्ताहरुको तर्फबाट पनि सहयोग हुने विश्वास व्यक्त गरे ।

निर्माणाधिन मझुवा चिसापानी लिफ्टिङ खानेपानी परियोजनामा दुई स्किम गरी ३ सय ९१ घरमा ‘एक घर, एक धारा’ विस्तार गरिएको छ । परियोजना अन्तर्गत स्किम–१ मा लिफ्टिङ र स्किम २ मा ग्राभिटी अन्तर्गत खानेपानी वितरण हुनेछ । स्थलगत अनुगमनमा थाहा नगरपालिका तथा च्वाइस नेपालका प्राविधिकहरु, कर्मचारी तथा स्थानीयहरुको समेत उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी