मकवानपुरको भीमफेदी गाउँपालिका सामाजिक सुरक्षा भत्ताका लागि ९३ दशमलब ३ प्रतिशत बायोमेट्रिक दर्ता सम्पन्न गर्दै मकवानपुरमै पहिलो बनेको छ । देशभरका उत्कृष्ट ११ स्थानीय तहमध्ये भीमफेदीले आफ्नो नाम लेखाउन सफल भएको छ । पञ्जिकरण विभागको पछिल्लो प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ का लागि सामाजिक सुरक्षा भत्ता नवीकरण तथा बायोमेट्रिक संलग्नता कार्यमा भीमफेदी गाउँपालिकाले उल्लेखनीय सफलता हासिल गरेको हो ।

देशभरका ७५३ स्थानीय तहमध्ये ११ औँ स्थान सुरक्षित गर्दै भीमफेदी गाउँपालिका राष्ट्रियस्तरमै उत्कृष्ट पालिकाको सूचीमा पर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । पञ्जिकरण विभागको कम्प्युटर सर्भरमा पटकपटक देखिएको प्राविधिक समस्या तथा प्रणालीको सुस्तताका बाबजुद पनि गाउँपालिकाले लक्षित समयभित्रै उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको भीमफेदी गाउँपालिका पञ्जिकरण शाखाले जनाएको छ ।

वडा कार्यालयका कर्मचारीको निरन्तर खटाइ, समर्पण र सेवाग्राहीप्रतिको जिम्मेवारीका कारण अधिकांश लाभग्राहीको बायोमेट्रिक दर्ता समयमै सम्पन्न भएको जनाइएको छ । भीमफेदी गाउँपालिकाले वडा तहका कर्मचारीको मेहनतको उच्चकदर गर्दै यस सफलताको मुख्य श्रेय वडा तहमा कार्यरत कर्मचारीलाई दिएको छ । सामाजिक सुरक्षा तथा पञ्जिकरण सेवा इकाई, भीमफेदी गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै फिल्डमा खटिएर कार्य गर्ने वडा सचिव, सहायक कर्मचारी तथा प्राविधिकको अथक मेहनतको उच्च कदर गरेको छ ।

विज्ञप्तिमा भनिएको छ ‘सर्भर समस्या र भौगोलिक कठिनाइका बाबजुद पनि अहोरात्र खटिएर सेवाग्राहीको बायोमेट्रिक दर्ता गर्ने कर्मचारीको मिहेनतकै कारण आज भीमफेदी गाउँपालिका देशकै उत्कृष्ट स्थानीय तहको सूचीमा उभिन सफल भएको हो ।’ पारदर्शी र सहज भत्ता वितरणतर्फ भीमफेदी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता जस्तो संवेदनशील तथा प्रत्यक्ष मानवीय सरोकारको विषयमा देखाएको तदारुकताले अन्य स्थानीय तहका लागि प्रेरणाको स्रोत बनेको छ । समयमै बायोमेट्रिक दर्ता सम्पन्न भएसँगै आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रिया अझ पारदर्शी, प्रभावकारी र सहज हुने विश्वास लिइएको एमआइए अपरेटरको समेत कार्यभार सम्हाल्दै आएका कार्यालयका मनोज तितुङले प्रतिक्रिया दिए ।

पालिका प्रेस
थप जानकारी