मकवानपुरको थाहा नगरपालिकासहित जिल्लाका तीन स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रूपमा सञ्चालन गर्न भूमि प्रशासन कार्यालय शिखरकोटले आग्रह गरेको छ । भूमि प्रशासन कार्यालय शिखरकोटले ४ मङ्सिरमा पालिकाहरलाई पत्राचार गर्दै आफ्नो कार्यक्षेत्रभित्र पर्ने थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र कैलाश गाउँपालिकालाई भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको हो।

कार्यालय प्रमुख लक्ष्मी नारायण निरौलाद्वारा हस्ताक्षरित पत्रमा भूमि व्यवस्था, सहकारी, सङ्घघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको १६ कात्तिकको पत्रअनुसार स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

मन्त्रालयको निर्देशनअनुसार स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्न एक महिनाभित्र आवश्यक व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । सोही व्यवस्थाअनुसार भूमि प्रशासन कार्यालय शिखरकोटले आफ्नो कार्यक्षेत्रभित्र पर्ने स्थानीय तहलाई तोकिएको समयभित्र सेवा सञ्चालनको तयारी पूरा गर्न भनेको हो।

यसैबीच संघीय सरकारले नागरिकलाई जग्गासम्बन्धी प्रशासनिक सेवा सहज, सरल र नजिकबाट उपलब्ध गराउने उद्देश्यले भूमि प्रशासनसम्बन्धी अधिकार तथा सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको हो।

मालपोत ऐन, २०३४ मा गरिएको संशोधन तथा प्रचलित कानुनी व्यवस्थाका आधारमा मालपोत कार्यालयबाट हुँदै आएका जग्गासम्बन्धी विभिन्न प्रशासनिक काम स्थानीय तहबाटै सञ्चालन गर्ने व्यवस्था गरिएको छ। यसबाट जग्गासम्बन्धी सामान्य प्रशासनिक कामका लागि जिल्ला सदरमुकामस्थित मालपोत कार्यालय धाउनुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ।

यसअघि नै सरकारले स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्न इच्छुक पालिकाहरूसँग प्रस्ताव तथा आशयपत्र माग गरी सेवा विस्तारको प्रक्रिया सुरु गरेको थियो। मन्त्रालयले २०८३ कात्तिक १६ गते जारी गरेको निर्देशनले भने आगामी एक महिनाभित्र सबै स्थानीय तहबाट सेवा सञ्चालन गर्ने लक्ष्यलाई थप तीव्रता दिएको छ ।

भूमि प्रशासन कार्यालय शिखरकोटले स्थानीय तहबाट सेवा सञ्चालन गर्ने क्रममा देखिन सक्ने प्रणालीगत समस्या, प्रक्रियागत जटिलता तथा प्राविधिक कठिनाइ समाधानका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने जनाएको छ । पत्रमा सेवा सञ्चालनका लागि आवश्यक व्यवस्थापकीय तयारी मिलाउनुका साथै सम्बन्धित स्थानीय तहमा कार्यरत कर्मचारीलाई समेत सेवा सञ्चालन प्रक्रियाबारे जानकारी गराउन अनुरोध गरिएको छ।

यसका लागि कार्यालयले तीन जना कर्मचारीलाई सम्पर्क व्यक्तिका रूपमा तोकेको छ । जसअनुसार बन्दना देव, सुनील चौलागाईं र विरज कुमार भुजेललाई सम्बन्धित स्थानीय तहसँग समन्वय तथा सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ ।

पालिका प्रेस
थप जानकारी